प्रधानमन्त्रीकी जेठी सासुलाई पनि पदवी
काठमाडौं- सरकारले मुस्ताङ विकास सेवा संघमा कार्यरत जापानी नागरिक तोरु कोन्दोलाई सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने घोषणा गरेको छ ।
सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका १ सय ६४ जनालाई मानपदवी, अलंकार र पदक दिने घोषणा गर्दा जापानी नागरिकको पनि नाम परेको हो । गणतन्त्र दिवसका दिन सोमबार राष्ट्रपति रामवरण यादवले सरकारको सिफारिमा मानपदवी, अलंकार र पदकबाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेका छन् ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वूपर्ण योगदान गरेका १ सय १५ जनालाई मानपदवी, १५ जनालाई अलंकार र ३४ जनालाई पदक प्रदान गर्ने घोषणा गरिएको छ ।
सरकारले मानपदवी दिने घोषणा गर्दा प्रधानमन्त्री बाबुराम भट्टराईका नातेदार र माओवादी पार्टीका नेतालाई प्राथमिकता दिइएको छ । त्यसमा प्रधानमन्त्रीकी जेठी सासु एवं लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष कयोंदेवी यमी र माओवादी नेता नन्दकिशोर पुन प्रमुख उदाहरण बनेका छन् ।