टोकियो – नेपाल सरकारले यस बर्षको गणतन्त्र दिवस बिशेषरुपले भब्यताका साथ मनाउने निर्णय गरेअनुसार टोकियोस्थित नेपाली दूतावासले पनि आज जेठ १४ अर्थात मई २७ तारिख आइतवारका दिन एक समारोहको आयोजना गरी चौथो गणतन्त्र दिवस मनाउने भएको छ ।
दूतावासकै सभाकक्षमा गणतन्त्र दिवस समारोहको आयोजना गरिएको जानकारी गराउँदै जापानमा रहनुभएका बिभिन्न संघसंस्था, पेशा, क्षेत्र र ब्यवसायमा संलग्न नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई दूतावासले उपस्थितिका लागि हार्दिक आमन्त्रण गरेको छ । प्रकाशित समाचारलाई आधार मानी आज अपरान्ह २ बजेदेखि हुने चौथो गणतन्त्र दिवस समारोहमा उपस्थित भई दिन दूतावासले अनुरोध गरेको हो ।
गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वकारुपमा मनाउने मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले चौथो गणतन्त्र दिवस तीन दिन सम्म भव्यरुपमा मनाउन केन्द्रदेखि गाउँस्तरसम्म विभिन्न कार्यक्रमसहित विगतभन्दा भव्य ढंगले मनाउने तयारी गरेको हो ।
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो वर्षको गणतन्त्र दिवस अविष्मरणीय र सबैले गर्व गर्ने खालको बनाउन विभिन्न मन्त्रालयका सचिव र कर्मचारीलाई निर्देशन दिईसकेका छन् । संविधान बनाएर मनाइने प्रथम गणतन्त्र दिवसको ऐतिहासिक महत्व रहने भएकोले कर्मकाण्डी र परम्परागतभन्दा फरक किसिमको कार्यक्रम बनाउन सकिएमात्रै सबैमा गणतन्त्रको आभास हुने प्रधानमन्त्री डा. भट्टराई बताउँछन् । ***