टोकियो – टोकियो कोतो कु-अन्तर्गत अन्तर प्राथमिक विद्यालय ३६ औं वान्पाकु सुमो टुर्नामेन्टमा कलंकीका १० बर्षीय प्रिन्स थापाले १२८ जना प्रतिस्पर्धीलाई पछि पार्दै दोश्रो स्थान हासिल गरेर नेपालको नाम उच्च बनाएका छन् ।
कोतो कु-मा रहेका २४ वटा प्राथमिक बिद्यालयका कक्षा ५ मा अध्ययनरत १२८ जना प्रतिस्पर्धीहरुलाई पराजित गर्दै प्रिन्स दोश्रो भएका हुन् ।
काठमाडौ कलंकीका थापा परिवार कोतो कु-को कामेइडोमा बस्दै आएको छ भने प्रिन्स स्थानिय सुइजिन प्राथामिक बिद्यालयमा पाँचौ कक्षामा अध्ययन गर्दैछन् । सानैदेखि सुमोमा रुची राख्ने मोटो ज्यान भएका प्रिन्सले खासै बिशेष प्रशिक्षण भने लिएका थिएनन् र उनले यति राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा उनको परिवारले नगरेको आमा शर्मिला थापाले बताईन् । स्कुलमै सामान्य हिसाबले खेल्न सिकेका प्रिन्सले दोश्रो स्थानमा बिजय हासिल गरेर विद्यालयले रनिङ शिल्ड प्राप्त गरेपछि उनका गुरुहरु पनि अहिले दंग छन् र प्रिन्सको बिजयसंगै कोतो कु भरिनै नेपालको चर्चा परिचर्चा पनि बढ्न थालेको छ । प्रिन्सले वान्पाकु सुमो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गरेबापत पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
एउटा नेपालीको छोरोले यति कलिलो उमेरमा सुमो खेलमा राखेको कीर्तिमानीले देशको ईज्जत र चिनारी बढाउने काम एकैचोटी भएको उनका प्रशंसकहरु बताउँछन् ।
जापानको राष्ट्रिय खेल सुमोको प्रारम्भिक अवस्थामा बाल खेलाडिहरुले खेल्ने (बाल सुमो) लाई वान्पाकु सुमो भनिने आमा शर्मिलाले बताईन् ।
प्रिन्सले जितेको म्याच स्थानिय टेलिभजन १० नंबर च्यानलले आगमी जुन २ तारिख प्रसारण गर्ने भएको छ । ***
प्रिन्स सुमो खेलेको टुर्नामेन्ट भिडियो-१