टोकियो- धर्मगुरुहरुद्वारा बिशेष पूजापाठ, प्रवचन, बुद्धको दर्शनबारे चर्चापरिचर्चा र बुद्ध दर्शनमा आधारित ध्यान जस्ता विविध कार्यक्रमसहित टोकियोमा आइतवार २५५६ औ बुद्धजयन्ती मनाइएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ जापान र अन्तरराष्ट्रिय नेवाः फोरम जापानको संयुक्त आयोजनामा टोकियोमा २५५६ औं बुद्धजयन्ती मनाईएको हो ।
बुद्धजयन्ती समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि कार्यवाहक राजदूत तापस अधिकारीले जापानमा रहेको नेपाली समुदायको पहलमा हरेक बर्ष बुद्धजयन्ती मनाउदै आईरहेकोमा सह्राना ब्बयक्तात गरे । बिशेष अतिथि हाल जापानको छोटो भ्रमणमा रहेका निवर्तमान ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ तामाङले बुद्धजयन्ती मनाउने सन्दर्भमा नेपाल सरकारले खासै चासो नदेखाएको अवस्थामा नेपाली जनताले बिशेष दबाबमुलक सुझावहरु दिन आवश्यक रहेको धारणा राखे । यसैगरी अर्का बिशेष अतिथि जापान नेपाल सोसाइटीका अध्यक्ष कोजिमा मिचुआकीले गौतम बुद्धको जन्मस्थलका सम्बन्धमा जापानका ५० प्रतिशत पाठ्यक्रममा गलत सूचना रहेको दाबी गर्दै यसलाई जतिसक्दो चाँडो सच्याउन उचित कदम चालिनु आवश्यक रहेको बताए ।
२५५६ औं बुद्धजयन्ती समारोहका संयोजक प्रचण्डमणि बज्राचार्यको सभापतित्वमा भएको सो बुद्धजयन्ती समारोहमा थेराबाद बुद्धिष्ट एसोसियशनका धर्मगुरुद्वारा पूजापाठ तथा प्रवचन र सिनसेन्जी मन्दिरका पूजारीद्वारा बुद्धपूजा गरिएको थियो । उत्साहजनक नेपाली तथा जापानीहरुको सभागिता रहेको सो कार्यक्रमको अन्तमा नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष ध्रुब भट्टचनले कार्यक्रम सफल पार्न सहयोगी भूमिका निर्बाह गर्ने प्रायोजकहरुलगायत सबैमा हार्दिक धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन भने महासंघका प्रवक्ता सुकमान थिङ तामाङले गरेका थिए । ***