स्याटेलाइटको माध्यमबाट लिइएको तस्विर जहाँ रकेट प्रक्षेपणको तयारी भइरहेको बताइएको छ (तस्विरः एएफपी)

रक्षामन्त्री नाओकी तानाका रकेट आक्रमणको आदेशबारे सञ्चारमाध्यमलाई जानकारी गराउँदै (तस्विरः एपी)
टोकियो – उत्तर कोरियाले यही अप्रिल १२ देखि १६ तारिखको बीचमा उपग्रह अन्तरिक्षमा पठाउन प्रक्षेपण गर्न लागेको रकेट जापानले पड्काउन सक्ने भएको छ । उक्त रकेटले जापानी सीमा प्रवेश गर्ने खतरा रहेको भन्दै प्रधानमन्त्री योशिहिको नोदाको मन्त्रिमण्डलले आवश्यक परेमा रकेटमाथि आक्रमण गर्न शुक्रबार आदेश दिएको छ ।
उक्त आदेशसँगै अब आफूहरु उक्त रकेटमा आक्रमण गरी नष्ट पार्न गर्नुपर्ने सम्पूर्ण तयारीमा लाग्ने रक्षामन्त्री नाओकी तानाकाले सञ्चारमाध्यमलाई बताए ।
आफ्ना संस्थापक नेता किम इल-सुङको १०० औं जन्मजयन्तीका अवसरमा उत्तर कोरियाले शान्तिपूर्ण उदेश्यका लागि उपग्रह प्रक्षेपण गर्न लागेको स्पष्ट पारिसकेको छ भने अमेरिका, चीन, दक्षिण कोरिया, जापान र रुस लगायतले उपग्रह प्रक्षेपणको नाममा लामो दूरीको आणविक हतियारको परीक्षण गर्न लागेको भन्दै उक्त प्रक्षेपण रोक्न आग्रह गरिसकेका छन् ।
अन्तरराष्ट्रिय दबाबका बाबजुद उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी तीव्र रुपमा अगाडि बढाइरहेको छ । स्याटेलाइटको माध्यमबाट खिचिएका तस्विरबाट उक्त कुरा पुष्टिभएको अमेरिकाको एउटा विश्वविश्वालयले बताएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति बराक ओबामाले चिनीयाँ समकक्ष हू जिन्ताओसँग उत्तर कोरियाको आणविक मिसाइल कार्यक्रममाथि रोक लगाउनका लागि कदम उठाउनका लागि अपिल गरेका छन् । ह्वाइट हाउसका एक अधिकारीले बताए अनुसार दुबै पक्षले उत्तर कोरियाली रकेट प्रक्षेपण कार्यक्रम रोक्नका लागि मिलेर कोसिस गर्ने बताएका छन् ।
– एजेन्सी