उम्मेदवारी नपरेकोले केही स्थान खाली
टोकियो – जापानमा रहेको नेपाली विद्यार्थीहरुको छाता संगठन नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले कृष्ण कुमार भेटवालको नेतृत्वमा १४ औं कार्यसमिति चयन गरेको छ । बिगतमा झैँ यसवर्ष पनि पारदर्शी ,विश्वसनीय र ई-भोटिंगबाट चुनाबी प्रक्रिया अघि बढाइएको भएपनि अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । नेसाजले वेद प्रसाद काफ्लेको संयोजकत्वमा मधुसुधन कायस्थ र डमरु बल्लभ पौडेल सदस्य रहेको निर्वाचन कमिटी गठन गरी नयाँ नेतृत्व छनोट प्रक्रिया अघि बढाएको थियो ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष – कृष्ण कुमार भेटवाल, उपाध्यक्ष (होक्काइडो) – भगवति कुँवर, उपाध्यक्ष (शिकोकु) – नारायण प्रसाद मरासिनी, उपाध्यक्ष (क्युशु) – अजय सिंह, सहसचिव – शर्मिला नेपाल, कोषाध्यक्ष – स्वेता सिजापति, सदस्य – श्याम कुमार थापा रहेका छन् । उपाध्यक्ष्य (होन्सु), महासचिव र ६ जना सदस्यहरुमा उम्मेदवारी नपरेकोले उक्त स्थानहरु खाली रहेको छ । खाली रहेको स्थानको लागि मनोनयन प्रक्रिया अघि बढाई कार्यसमितिलाई पूर्णता दिने जानकारी गराइएको छ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले भने मार्च ३० का दिन सपथ लिने बताइएको छ ।
यसअघि नयाँ नेतृत्वको लागि नेसाजको तत्कालिन कार्यसमिति होन्सु क्षेत्रका उपाध्यक्ष्य जिवाकराज बज्राचार्य र महासचिव कृष्ण कुमार भेटवालको नाम चर्चामा रहेपनि सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै जिवाकराज बज्राचार्यले मनोनयन दर्ता गरेका थिएनन् । उम्मेदवारी मनोनयन दर्ताको समयसम्म आर्इपुग्दा अध्यक्ष पदका लागि टोक्यो विश्वबिद्यालयका सुमन दाहाल र महासचिव कृष्ण कुमार भेटवालको मनोनयन दाखिला भएको थियो । तर सर्वसम्मत नेतृत्व चयनका लागि विभिन्न व्यक्तितवहरुले गरेको प्रयासका कारण दाहालले उम्मेदवारी फिर्ता लिई भेटुवाललाई समर्थन गरेका थिए ।
त्यसैगरी हाल तोयोहासी युनिभर्सिटी अफ टेक्नोलोजीमा विद्यावारिधी गरिरहेका नेसाजका नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार भेटवालले आफ्नो कार्यकालमा आफूले घोषणापत्रमा उल्लेख गरे बमोजिम कार्यहरु गर्ने बताए । जसअनुसार नेसाजको पूराना बाँकी कामहरुलाई निरन्तरता दिने, युनेस्को तथा रोटरी क्लब जापान जस्ता स्वयंसेवी संस्थाहरुसँग राम्रो सम्बन्ध स्थापित गरी सहकार्य गर्ने, जापानी भाषा स्पिच कन्टेस्ट जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि थप अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्ने, सम्पूर्ण क्षेत्रहरुलाई उत्तिकै प्राथमिकतामा राखी सदस्य संख्या बढाउन प्रयास गर्ने लगायतका कार्यहरु गर्ने बताए ।