टोकियो – एनआरएनका सामुहिक लगानीका कुरा नयाँ होइनन् । यो बहसले झण्डै एक दशक आयु गुजारेको सबैका सामु छर्लङ्ग छ । यद्यपि पछिल्ला दिनहरुमा भने सामुहिक लगानीका कुरा एनआरएन बृत्तमा केन्द्रिय प्राथकिमकतामा परेकोले देशभित्र औ बाहिर बहसको बिषय बन्न पुगेको छ । जल बिद्युतमा सामुहिक लगानी गर्ने एनआरएनको प्रस्तावित परियोजनालाई मुर्तरुप दिन अध्यक्ष जीवा लामिछानेलगायतका केन्द्रिय नेताहरु देशबिदेश दौडाहामा निस्केको महिनौ भईसकेको छ । यसै सिलसिलामा सामुहिक लगानीको अभियानलाई थप पेचिलो बनाउँदै जापानमा रहेका नेपालीहरुलाई लगानीका लागि प्रोत्साहित गर्न टोकियो आईपुगेका एनआरएन अध्यक्ष जीवा लामिछानेको बिशेष उपस्थितिमा आज टोकियोमा सामुहिक लगानी बिषयक बहुप्रतिक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा अध्यक्ष लामिछानेले मुलुकको आर्थिक समृद्धिका लागि गैरआवासीय नेपालीहरुको लगानीमा जल बिद्युत परियोजना सञ्चालन गर्ने प्रस्ताव गरिएको बताउँदै उक्त अभियानमा सहभागी बन्न जापानबासी नेपालीहरुलाई बिशेष आग्रह गरे । सरकारको पहिलो प्राथमिकतामा परेको र नेपाली जनताको दैनिक जीवनसंग सरोकार राख्ने जल बिद्युतको क्षेत्र नै अहिलेको सबैभन्दा उपयुक्त र सुरक्षित क्षेत्र भएकोले एनआरएनएले यो प्रोजेक्टलाई अगाडि बढाएको बताउँदै उनले भने- “प्रोजेक्ट सञ्चालन गर्नका लागि आगामी अक्टुबर भित्र नेपालको कम्पनी ऐन बमोजिम एउटा कम्पनी लिमिटेड स्थापना गरिने छ र सो कम्पनीको मातहतमा प्रोजेक्ट शुरु गरिने छ । यसका लागि धेरै कामहरु अगाडि बढिसकेको छ भने बिभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुमा देखिएको अत्यन्त उत्साह र हौसलाबाट थप प्रोजेक्टहरु सञ्चालन गर्न ऊर्जा मिलेको छ । त्यसैले प्राथमिकताको आधारमा बिभिन्न प्रोजेक्टहरुमार्फत स्वदेशमा लगानी भित्र्याउने अभियानलाई हामी निरन्तर जारी राख्ने छौं “- अध्यक्ष लामिछानेले भने- “जल बिद्युतको क्षेत्रमा लगानीको प्रतिफल आउन केहि समय प्रतिक्षा गर्नुपर्ने भएपनि जोखिम कम, मुनाफाको ग्यारेन्टी, सर्बसुलभ अनुदानको सुबिधान, मुलुकको लागि पहिलो आवश्यकता भित्र पर्ने सेवा भएकोले हामीले पहिलो प्रोजेक्ट हाईड्रोलाई लिएका हौं । यसमा जतिसक्दो धेरै नेपालीहरुको लगानी समेट्न सकियोस् भन्ने उद्देश्यले न्युनतम १ लाखदेखि १ करोड सम्म लगानी गर्न सकिने प्रावधान राखिएको छ । विगतका अनुभवबाट के भन्न सकिन्छ भने अब एनआरएनले साँच्चिकै लगानी भित्र्याएर देखाउने बेला आएको छ, आवश्यकता, प्राथमिकता, अनुभव र कम जोखिमका हिसाबले त्यसको शुरुवात जल बिद्युतबाट गर्न चाहेका हौं, यसर्थ आफुसक्दो सहभागिता जनाएर यस अभियानलाई गन्तब्यमा पुरयाउन सहयोग गर्न हार्दिक अपिल गर्न चाहान्छु । ठुलो समुहको साझा दायित्व रहने जल बिद्युत क्षेत्रमा लगानी गर्ने यो एउटा अत्यन्तै स्वर्णिम अवसर पनि भएकोले जापानबासी नेपालीहरु यस अवसरबाट वञ्चित नहुन हाम्रो हार्दिक आग्रह छ – अध्यक्ष लामिछानेले भने ।
अन्तरक्रिया कार्यक्रममा आईसीसी सदस्य एवं निवर्तमान अध्यक्ष रोशन केसीको स्वागत मन्तब्य रहेको थियो भने बिषय प्रवेश गराउँदै सामुहिक लगानी सम्बन्धी कार्यदल एशिया प्यासिफिकका सहसंयोजक महेशकुमार श्रेष्ठले जल बिद्युतमा नै सामुहिक लगानी गरिनुको औचित्य बारेमा प्रकाश पारेका थिए । यसैगरी सो अवसरमा आईसीसी एशिया प्यासिफिकका सहसंयोजक किरणविक्रम थापा, संयोजक त्रिलोक गुरुङ, आईसीसी कोषाध्यक्ष भवन भट्टले सामुहिक लगानीबाट हुने फाईदा र यसका बिशेषताबारे चर्चा गर्दै प्रस्तावित प्रोजेक्ट जल बिद्युतमा लगानी गर्न आह्वान गरे ।
यसैगरी सो अवसरमा एनडिएफका प्रतिनिधि सूर्य पाठक, नेपाली जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष पासाङ शेर्पा र नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष बेलु थापाले जल बिद्युतमा सामुहिक लगानी सम्बन्धी प्रस्तावित परियोजनाका बारेमा चर्चा गर्दै एनआरएन नेतृत्वले चुनौती र अवसरका बीचबाट जलबिद्युतको क्षेत्रमा अरबौको लगानी गर्ने प्रस्तावित महत्वाकांक्षी अभियानमा गुण र दोषको आधारमा आफुहरुको सहयोग र समर्थन रहने बिचार ब्यक्त गरे ।
अन्तरक्रियाको क्रममा सहभागीहरुले बडो अभिरुचीका साथ थुप्रै जिज्ञासाहरु राखेका थिए । एनआरएन आफै दर्ता हुन नसकेको संस्थाबाट अरवौको लगानी गर्ने महत्वाकाँक्षी प्रस्ताव आउनु मननयोग्य भएको, एनआरएन जस्तो सामाजिक सँस्थाले नाफामुलक प्रोजेक्टमा हात हाल्दा स्वार्थको खेल हावी हुने खतरा रहेको, देशको अस्थिर राजनैतिक परिस्थिति र नेपालको बिषम भूबनोट अवस्थामा प्रोजेक्टको भबिष्य चुनौतीपूर्ण देखिएको जस्ता टिप्पणी गर्दै उनीहरुले कमभन्दा कम लगानीकर्तालाई पनि प्रोजेक्टमा सहभागी बनाइनुपर्ने, प्रोजेक्टको बिस्तृत रुपरेखा स्पष्ट पारिनुपर्ने जस्ता सुझावहरु दिएका थिए । जिज्ञासा राख्नेहरुमा सुबास लोहनी, सूर्य पाठक, अरुणकुमार श्रेष्ठ, केशव थापा, ईश्वर अधिकारी, सागर रिजाल, बिष्णु रेग्मी, चिरिञ्जिवी थापा, शालिकराम भण्डारीलगायतका थिए ।
यसैगरी कार्यक्रममा एनआरएन जापानका सल्लाहकार डा. राम गिरीले नेपालमा जल बिद्युतको अवस्था बारे पावर प्वाईन्टमार्फत प्रकाश पारेका थिए ।
एनआरएन जापानका अध्यक्ष ओम गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले एनआरएन अभियानमा नेपाल सरकार र नेपाली राजदूतावासको तर्फबाट सक्दो सहयोगी भूमिका रहने बिचार ब्यक्त गर्दै प्रस्तावित जल बिद्युत परियोजना सफलताको कामना गरे । कार्यक्रमको अन्तमा, सभापतिको आसनबाट ओम गुरुङले सामुहिक लगानीको अवधारणालाई सफ़ल पार्न जापानबाट अग्रणी भुमिका निर्वाह गरिने बिचार ब्यक्त गर्दै उपस्थित सबैमा धन्यबाद ब्यक्त गरेका थिए ।
औपचारिक र खुल्ला अन्तरक्रिया गरी दई चरणमा बिभाजित कार्यक्रमको क्रमशः एनआरएन जापानका महासचिव राजेन्द्र पराजुली र सल्लाहकार भूषण घिमिरेले सञ्चालन गरेका थिए ।
सो अन्तरक्रियाको निचोडबाट प्रस्तावित जल बिद्युत परियोजनाका लागि जापानमा रहेको नेपाली समुदायले ५० करोड रुपैंया संकलन गरेर पठाउने मौखिक प्रतिबद्धता जाहेर गरिएको छ । जल बिद्युतमा लगानी गर्न जापानले यसअघि नै करिव ५० करोड रुपैंया जम्मा गरेर पठाउने घोषणा गरेको थियो ।
टोकियोको सिनओकुबोमा भएको सो कार्यक्रमको समापनपश्चात अध्यक्ष जीवा लामिछानेको स्वागतमा एक रात्रीभोजको पनि ब्यवस्था गरिएको थियो । सो अवसरमा अध्यक्ष जीवा लामिछाने, कोषाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिक संयोजक त्रिलोक गुरुङ, उपसंयोजक किरणविक्रम थापा, एशिया प्यासिफिकबाट मनोनित आईसीसी सदस्य राजन प्रधानाङ्ग, जापानबाट आईसीसी सदस्यहरु गोविन्द श्रेष्ठ, अरुणकुमार श्रेष्ठ, रोशन केसी र डा. सुदिप अधिकारी, च्यारिटी टास्कफोर्सका सदस्य कपिलदेव थापा, भूषण घिमिरे लगायतलाई उई फर अलको तर्फ़ाबाट उपाध्यक्ष दीपकबाबु नेपालले खादार्पण गरी सम्मान गरेका थिए । ***