टोकियो – दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुले हालै एक समारोहको आयोजना गरी १०२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाएका छन् । विश्वभरी मार्च ८ का दिन मनाईने सो दिवस विविध कारणले कोरियामा रहेका नेपाली महिलाहरुले मार्च १८ आइतवारका दिन मनाएका हुन् । कोरियामा रहेका नेपाली महिलाहरुको साझा चौतारी प्रवासी महिलाका लागि महिला संघले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवाहक राजदूत राजाराम बर्तौलाले महिलाहरुलाई शिक्षाको अवसर दिनुपर्ने बताउनुभयो । उहाँले विश्व परिवेशलाई हेर्दा अमेरिका जस्तो पुँजीवाद र चाइना जस्तो साम्यवाद मुलुकमा समेत नीति निर्माण तहमा ९ प्रतिशत भन्दा बढि महिलाहरुको प्रतिनीधित्व हुन नसकेको बताउँदै नेपालमा ३३ प्रतिशत महिलाहरुले नीति निर्माणको क्षेत्रका प्रतिनीधित्व गरिरहेको बताउनुभयो । बर्तौलाले यो बिज्ञान र प्रविधीको युग भएकोले नारीलाई शिक्षाको अवसर दिन सके हरेक क्षेत्रमा उनिहरु सबै किसिमका काम गर्न सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नेपाल पत्रकार महासंघका सचिव अशोक मैनालीले विभिन्न कालखण्डमा महिलाहरु हिंसाबाट मुक्त हुन नसकेको बताउँदै आफ्नो अधिकार सुनिश्चित गर्न दवावमुलक कार्यक्रमहरुसंगै समान सहभागिता र महिला हिंसा अन्त्यमा जोड दिनुभयो । कायक्रममा महिला प्रतिनिधी तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष गंगा थापाले महिलाहरुलाई सहयोग गर्न मन्चमा उभिएर ठूला ठूला भाषण गर्ने र व्यवहारमा लागु नगर्ने गन्यमान्य व्यक्तिहरुको आलोचना गर्दै महिलाहरुलाई आस्वासन होइन सहयोगी र समानताको भावनाले हेर्न अनुरोध गर्नुभयो । मन्तव्यकै क्रममा एनआरएन आइसीसी सदस्य डा. देबीबहादुर बस्नेतले हैकमबादी चरित्रको अन्त गर्न महिलालाई उत्पादनशिल तथा आर्थिकरुपमा शसक्त बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष चङ्गकुमार गुरुङले नारीको अधिकारलाई जनैको टुप्पामा बाँधेर राखेको आरोप लगाउनुभयो । तर कस्को जनैको टुप्पामा नारी अधिकार झुण्डिएको हो खुलासा गर्नुभएन ।
नारी दिवसको अवसरमा एनआरएन दक्षिण कोरियाका अध्यक्ष केपी सिटौला नेपाली सम्पर्क समितिका अध्यक्ष शंकर बस्नेत नेपाली लोकतान्त्रिक मन्चका संयोजक कृष्ण राई नेपाली जन सम्पर्क समितिका महामन्त्री प्रकाश खनाल नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ्ग नेपाल कोरिया ब्यपार संघका अध्यक्ष मदन केसी एचआरडीका प्रतिनिधी राजु कार्की झापा मिलन समाजका अध्यक्ष मिन प्रकाश उप्रेती थकाली सेवा समितिका अध्यक्ष भक्त शेरचन लगायतले नारी दिवसको बारेमा आ-आफ्नो धारणा राख्दै नेपाली नारीहरुको जीवनशैली घरेलु हिंसा देखि विकसित मुलुकका नारीहरुको अवस्थाको बारेमा चर्चा गर्दै समान हक अधिकारको बारेमा जोड दिएका थिए । कार्यक्रममा महिला दिवसको चर्चा गर्दै लेखिका प्रगति राईले रुख नामक कविता बाचन गर्नुभएको थियो भने स्थानिय गायिका कुशला क्षेत्रीले गीत गाएर उपस्थित पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा महिला आवास गृह सन्चालनमा सहयोग पुर्याउँदै आएका संघ संस्थाका प्रमुख तथा कोरियन दाताहरुलाई प्रमूख अतिथीले खादा लगाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
नेपाली दूतावासको सभाहलमा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै संघकी उपाध्यक्ष जुनु गुरुङले सबै नारी एक हुन सके नारी माथि हुने हिंसा, अत्याचार र हाम्रो समाजको कु-संस्कारलाई अन्त्य गर्न सकिने बताउनुभयो । राष्ट्रियगान तथा शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको सो कार्यक्रमलाई संघकी सचिव बिमला श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । ***