टोकियो – जापानी अर्थतन्त्रको एउटा महत्वपर्ण परिसूचककोरुपमा रहेको निक्केइ इन्डेक्स गत बुधबार ७ महिना पछि १० हजार भन्दामाथि चढेपछि जापानको अर्थतन्त्रमा सुधारको संकेत आएको बिश्लेषकहरुले बताएका छन् ।
जुन अंक गत बर्षको जुलाई २६ तारिख पश्चात १० हजार भन्दा तल स्थिर रहेको थियो । गत बुधवार निक्केइ इन्डेक्स १००५०.५२ मा पुगेर सो दिनको कारोबार बन्द भएको थियो । यसको संगसंगै जापानी येनको बिनिमय दर पनि अमेरिकी डलरको तुलनामा सस्तो हुन गई ११ महिना पश्चात १ डलर बराबर ८३ येन बाट माथि लागेको छ । गत मंगलबार टोकियोको शेयर बजारमा उक्त बिनिमय दर १ डलर बराबर ८३.२४ ले कारोबार भएको थियो भने न्यूयोर्कको शेयर बजारमा भने ९२.९० येनको दरले कारोबार भएको थियो । यसैगरी जापानी येनको मूल्य युरोको तुलनामा पनि घटेको छ । यसरी जापानी येनको मूल्य घट्ने क्रम अझै रहने र अप्रिल मसान्त सम्ममा निक्केइ इन्डेक्स १०५०० सम्म पुग्ने अनुमान दाइवा एसेट म्यानेजमेन्टका बरिष्ठ योजनाकार योसिनोरी नागानोले बताएका छन ।
गत बर्षको महाभूकम्प तथा सुनामी पश्चात जापानी येनको मूल्यमा भएको बृद्धिका कारण जापानको निर्यात ब्यापारमा नराम्रो असर परेको थियो । जसकाकारण कतिपय साना तथा मझौला उद्योगहरु त बाध्यताबस बन्द गर्नुपर्ने अवस्थामा थियो । पछिल्लो दिनमा देखिएको जापानी येनको मूल्यमा आएको कमीले भने यहाँका निर्यातमा आधारित ब्यवसायीहरुमा केही आशा पलाएको बुझिएको छ ।
अर्कोतर्फ जापानमा काम गरेर आफ्नो देशमा पैसा पठाउनेहरु भने जापानी येनको मूल्य बृद्धिबाट चिन्तित छन । एक महिना कै बिचमा प्रतिलाख नेपाली रुपैंयाको लागि तिर्नुपर्ने जापानी येन १० हजार भन्दा पनि बढि पुगेकोले आगामी दिनमा झन बढ्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ । तर समग्रमा हेर्दा जापानको अर्थतन्त्र बलियो भएमा यहाँ रहेका स्वदेशी तथा बिदेशीको हितहुने कुरा भने बिर्सन नहुने जानकारहरुको भनाई रहेको छ । ***