टोकियो – कानागावा अञ्चलको कानागावा अन्तरराष्ट्रिय फाउन्डेशनको पहलमा योकोहामामा दुईदिने फोटो प्रदर्शनी भब्य रुपमा सम्पन्न भएको छ। गत बर्ष मार्च ११ मा जापानमा गएको महाभूम्प र सुनामी पश्चात् जापानबासी नेपालीले गरेको सहयोग कार्यको परिचय सम्बन्धि उक्त प्रदर्शनीमा हजारौंको अवलोकनकर्ताको उपस्थिति रहेको थियो ।
प्रदर्शनीमा अवलोकनकर्ताहरुले यस किसिमको कार्यक्रम आयोजनाबाट नेपालीहरुले देखाएको सहयोग र मायाको बारेमा थाहा पाएको भन्दै नेपालीहरुको कार्यको लागि आभार व्यक्त गरेका थिए ।
उक्त प्रदर्शनीमा भूकम्प तथा चुनामी उद्धार समितिको संयोजन गरेका तत्कालिन एनआरएन जापानका अध्यक्ष लालबहादुर केसी (रोशन), बर्तमान अध्यक्ष ओम गुरुङ, महासचिव डा. राजेन्द्रप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो । साथै एनआरएन जापानका सदस्य देबिलाल भण्डारी, डि पी कँडेल, हरिबहादुर पहारी र यसोदा बस्नेत थापाले कार्यक्रममा बिभिन्न किसिमको सहयोग पुर्याएका थिए ।
साथै गतवर्ष भूकम्प गएको समय २ बजेर ४६ मिनेटमा भूकम्प तथा सुनामीमा परी दिवङ्गत भएकाहरुको सम्झनामा १ मिनेट मौनधारण समेत गरिएको थियो ।