रामशरण वजगाँई

मञ्चमा रहेका शीर्ष नेताहरूको प्रतिनिधित्व गर्दै अध्यक्ष खनालले यस्तो बताउँदै गर्दा कार्यकर्ताले खचाखच भरिएको कमलादीस्थित ‘एकेडेमी हल’मा राजनीतिक ‘रस्साकस्सी’का बीच पनि भावुकता झल्कियो । त्यही बिहान मात्र अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम र अशोक राई लगायतले कार्यकर्तासँगै लाइन लागेर आआफ्नो रगतमा सुगर (मधुमेह) परीक्षण गराएका थिए । पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घले परिषद् बैठक अवधिभरका लागि चलाइएको स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताले सुगर जँचाए ।
तीन वर्षअघि बुटवलमा सम्पन्न पार्टीको आठौं महाधिवेशनपछि एमालेका यति धेरै नेता÷कार्यकर्ता एकै ठाउँ भेला भएको यो पहिलो पटक हो । यो अवधिमा पानी बाराबारको अवस्थामै पुगेका नेताहरू एकताबद्ध भई स्वास्थ्य परीक्षणमा पनि एकै लाइनमा देखेपछि कार्यकर्ता भन्दै थिए, ‘नेताहरू साँच्चै मिलेका नै हुन् त !’ प्रज्ञा भवनमै चलेको स्वास्थ्य शिविरमा अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, उपाध्यक्षहरू गौतम र राई, पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली एकैसाथ सुगर जँचाउन गएका थिए । नेता केपी शर्मा ओली भने अघिल्लो दिन शिविर निरीक्षणमा मात्र गएका थिए ।
विवाद बढेका बेला एउटै मञ्च समेत प्रयोग नगर्ने नेता सँगै लामबद्ध भएको देखेपछि सुगर जँचाउन कार्यकर्ताको भिड नै लाग्यो । ‘पाँच सयभन्दा बढीको सुगर परीक्षण गरियो,’ सङ्घका अध्यक्ष भक्ति सुब्बाले भने । सुगर परीक्षणलाई सकारात्मक रूपमा लिँदै नेताहरूको स्वास्थ्यका विषयमा अनुसन्धान प्रतिवेदन नै प्रकाशन गरिने भएको छ । ‘नेताहरूको जीवनशैली र परीक्षणको रिपोर्टलाई आधार बनाएर सर्वेक्षण प्रकाशन गर्छौँ,’ अध्यक्ष सुब्बाले भने, ‘खराबी देखापरे जीवनशैली सुधार्न सचेत गराउँछौं ।’