काठामाडौं – नेपालमा गणतान्त्रिक संबिधान निर्माण प्रक्रियाले अन्तिम चरण प्रवेश गर्न गईरहेको बेला आफुहरुले दशकौदेखि उठाउँदै आएको एजेण्डाले कतै स्थान नपाउने हो कि भन्ने चिन्ताबाट मुक्त हुन नसकेका एनआरएन अगुवाहरु अहिले राजधानी काठमाडौंमा डौडधूप गरिरहेका छन् ।
हिजो बिहिबार मात्रै बिभिन्न राजनैतिक दलका दर्जनौ प्रभावशाली नेता, तथा सरोकारवला सभासदहरुसंगको भेटघाट र छलफलमा उनीहरु ब्यस्त रहे । एनआरएन अध्यक्ष जिवा लामिछानेको नेतृत्वमा सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, रामप्रताप थापालगायतका एनआरएन अभियानका प्रभावशाली शिर्षस्थ हस्तीहरु संलग्न प्रतिनिधि मण्डलले संबिधानमा आफ्नो एजेण्डा प्रवेश गराउन अन्तिम कसरतमा लागेका हुन् ।
एनआरएनले उठाउँदै आएको दोहोरो नागरिकताको एजेण्डालाई राजनीतिक दलका नेताहरुले धेरै पहिलेदेखिनै सिधै नकार्न नसके पनि समान धारणा बनाउन नसकेका कारण यो बिषयले निकास पाउन नसकेको सबैका सामु छर्लंग छ । बिभिन्न दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएर एनआरएनले उठाउदैं आएको मुद्दाहरुको सम्बोधन हुने तहको धारणा नआउंदा सहमति जुट्न नसकेको स्थितिमा यसका अगुवाहरुले अस्तित्वकै लडाईकारुपमा छलफललाई तिब्र पारेका हुन् । दोहोरो नागरिकता मात्र नभएर संबिधानमा ब्यवस्था गर्नैपर्ने एनआरएनसंग सम्बन्धित अन्य थुप्रै बिषयहरुमा दलका नेताहरुले बडो चलाखी भाषामा बिरोधाभाष नआउने गरी आफ्ना धारणा ब्यक्त गर्दै आएको देखिन्छ । एनआरएनको मुद्दालाई संबिधानमा ब्यवस्था गरिनुपर्छ भनेर उनीहरु एउटै आवाज बनाउन सकिरहेका छैनन् र हुदैन भनेर नकार्न पनि सकिरहेका छैनन् । यसरी एनआरएनको एजेण्डालाई संबिधानमा प्रवेश गराउनका लागि राजनीतिक दलहरुको सहमति जुटाउने जस्तो अत्यन्तै कठिन कसरतमा अहिले एनआरएन हस्तीहरु लागेका छन् । यद्यपि हुन्छ पनि भन्न नसक्ने र हुदैन पनि भन्न नसक्ने नेताहरुको पुरानै गोलमटोलको प्रतिक्रियाका बिचबाट कसरी सहमति जुट्ने हो त्यो भने हेर्न बाँकी छ ।
यसैक्रममा एनआरएन पदाधिकारीले हिजो झण्डै २० जना सभासद्, कानुनविद् र विज्ञहरुसँग अन्तरक्रिया गरे । कानुनका जानकार मानिएका सभासद्हरु एकराज भण्डारी, अग्नि खरेल, राधेश्याम अधिकारी, सपना मल्ल, गगन थापा तथा संविधानसभा संवैधानिक समितिका सदस्य लक्ष्मणलाल कर्णले अन्तरक्रियामा भाग लिएका थिए ।
अन्तरक्रियामा सहभागी अधिकांशले गैरआवासीय नेपालीहरुको नागरिकलाई निरन्तरता दिइनुपर्ने बताए । अन्तरक्रियाको विश्लेषण अमेरिकामा रहनुभएका प्रा. डा. सूर्य सुवेदीले टेलिकास्टको माध्यमबाट गरेका थिए । डा. सुवेदीले विश्वका अन्य देशले गैरआवासीयलाई दिएको सुविधा र नेपालले दिनसक्ने सम्भावनाबारे उल्लेख गरेका थिए । तत्काल संविधानमा गैरआवासीय नेपालीलाई नागरिकताका बारेमा सम्बोधन गर्न नसके पनि कानुनले निर्दिष्ट गरेर जान सकिने उनले बताए ।
अन्तरक्रियापछि अध्यक्ष जीवा लामिछानेले नेतृत्व गरेको उक्त टोलीले संविधानसभा अध्यक्ष सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट गरेको थियो । टोलीले अध्यक्ष नेम्वाङसँग गैरआवासीय नेपालीको नागरिकतालाई कसरी निरन्तरता दिन सकिन्छ भनेर छलफल भएको एनआरएन प्रवक्ता डा. हेमराज शर्माले बताए । त्यसपछि उक्त टोलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको थियो ।
टोलीले आज शुक्रबार नेपाली कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ ।एनआरएन प्रतिनिधिमण्डलले बिभिन्न ब्यक्तिहरुसंगको भेटवार्ताकाक्रममा गैरआवासीय नेपालीको परिभाषा, संघको दर्ता, सामुहिक लगानी, मध्यपूर्वमा कार्यरत श्रमिकहरुको लागि सुरक्षित आप्रवासन, श्रम स्वीकृती, नेपालमा संचालन गरिने परोपकारी परियोजनाहरु, गैरआवासीय नेपालीहरुको मतदान सम्बन्धि व्यवस्थाका लगायतका बिषयमा गम्भीर छलफल गरिरहेको बताईएको छ ।***