टोकियो- गत बर्षको मार्च ११ मा गएको महाभूकम्प तथा सुनामीको सम्झना गर्दै जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेले आगामी मार्च ३ तारिख देखि ११ तारिखसम्म सो महाभूकम्प सम्बन्धी धाराबाहिक बृतचित्र प्रसारण गर्ने भएको छ । उक्त दुखद घटनाको पहिलो बाषिर्कीस्वरुप गत मार्च ११ को महाभूकम्प तथा सुनामीका कारण क्षतिग्रस्त भएको फुकुसिमा आणबिक भट्टीमा के भएको थियो र त्यसको कारण के कति मानिसहरु प्रभाबित भएका थिए भन्ने बारेमा तथ्यसहित बिशेष बृतचित्र प्रसारण गर्ने भएको हो । महाभूकम्प तथा सुनामी पश्चात जम्मा गरिएका बिभिन्न खालका तथ्यहरुलाई बिश्लेषण गरी सो धाराबाहिक बृतचित्र तयार गरिएको एनएचके श्रोतले बताएको छ । आगामी ३ तारिख देखि ११ तारिखसम्म प्रसारण गरिने सो बृतचित्रको तालिका निम्नअनुसार रहेको बुझिएको छ ।
मार्च ३, शनिबार-फुकुसिमाको आणबिक भट्टीको दूर्घटना सम्बन्धि प्रारम्भिक रिपोर्टहरु प्रसारण हुनेछ । जसमा उक्त दूर्घटनाका कारणहरुको बारेमा अनुसन्धान गरिनुका साथै यस्तो भयाबह स्थितिसम्म पुग्नुका कारणहरुको बारेमा पनि खोजी गरिनेछ । मार्च ४, आइतबार-मार्च ११ मा गएको महाभूकम्प तथा सुनामीका दृष्यहरु देखाइनेछ । साथै, उक्त महाभूकम्प तथा सुनामीबाट मर्नेहरुको संख्या कम गर्नको लागि के कस्ता उपायहरु अपनाउन सकिन्थ्यो भन्ने बारेमा पनि जानकारी गराइनेछ । मार्च ५, सोमबार-क्षतिग्रस्त भएको फुकुसीमा आणबिक भट्टीबाट सबैभन्दा नजिक रहेको शहर मिनामी सोमाको बारेमा प्रसारण गरिनेछ । उक्त शहर २० किलोमिटरको परिधिभित्र पर्दछ जहाँ खाली गर्नका लागि सरकारले निर्देशन दिएको थियो । अझै पनि त्यस क्षेत्रका मानिसहरु आफ्नो घरमा र्फकन पाएका छैनन् । तिनै मानिसहरुको धारणा तथा ब्यथाहरु प्रस्तुत गरिने छ । मार्च ६, मंगलबार-एनएचकेका एक रिपोर्टरले खिचेको ३८ मिनेट लामो सुनामीको दृष्य़ र त्यसमा आफ्नो ज्यान बचाउन सफल १७४ जनाको दृष्यका साथै प्रत्यक्ष्यदर्शीहरुको भनाइ प्रस्तुत गरिने छ । साथै, संघर्ष गरी बाँच्न सफल हुनेहरुको जीवन र मृत्युको दोसाँधका अनुभबहरु प्रस्तुत गरिनेछ । मार्च ७, बुधबार-१४०० भन्दा बढी घरहरु बगाएको ओचुची शहरको कथाब्यथा प्रस्तुत गरिने छ । सबैजसो घरहरु बगाइएको उक्त शहरका मानिसहरु हाल अस्थायी घरमा बसिरहेका छन र उनिहरु बिभिन्न खालका शारीरिक तथा मानसिक रोगबाट ग्रसित छन । साथै, आफ्ना भबिष्यका सपनाहरु सबै गुमाएका छन् । मार्च ८, बिहिबार-आणबिक भट्टीमा भएको क्षतिबाट मानव जीवनमा बढेको त्रास तथा क्षतिको बारेमा प्रस्तुत गरिनेछ । मार्च ९, शुक्रबार-अझै पनि केही भाग पानी मै रहेको केसेन्नुमा शहरको कथाब्यथा प्रस्तुत गरिने छ । यहाँका मानिसहरु आफ्नै ठाउँमा अझै केही गर्न सकिन्छ भनेर कम्मर कसिरहेका छन् । क्षत्रि्रस्त भएका पसलहरु पुनर्निमाण गरी खोल्ने तरखरमा छन उनिहरु । यस्तै खालका आशाका किरणहरु बोकेको केसेन्नुमा शहरको बारेमा प्रसारण गरिनेछ । १० मार्च शनिबार-पुनर्निमाणको क्रममा रहेको मिनामी सानरिकु शहरको बारेमा प्रसारण गरिनेछ । जहाँ रोजगारको सिर्जना, बृद्धाहरुको सेवा तथा बालकहरुको हेरचाह जस्ता कैयौं कार्यहरु यथावत छन् । ११ मार्च आइतबार-तोहोकु क्षेत्रबाट प्रत्यक्ष प्रसारण गरिनेछ । महाभूकम्प तथा सुनामीबाट प्रभाबित मानिसहरुको भनाईहरुको प्रत्यक्ष प्रसारण गरिनेछ जसले जापानभरिका मानिसहरुलाई पुनः एक पटक एकताको सुत्रमा बाँध्न र एक आपसको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउनेछ ।***