टोकियो – नेपाली काँग्रेसको जापानस्थित भात्तृसँस्था नेपाली जनसम्पर्क समितिले एक बिज्ञप्ती प्रकाशित गरी जहानिया राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन फाल्गुन ७ लाई सरकारले बेवास्ता गरी प्रजातन्त्र दिवस नमनाएकोमा आपत्ति जनाएको छ ।
सो समितिको तर्फबाट कार्यवाहक अध्यक्ष पासाङ शेर्पाद्वारा आजै जारी गरिएको बिज्ञप्तीमा, नेपालको ईतिहासमा ६२ बर्ष पछि पहिलोपल्ट २००७ सालको क्रान्तिलाई बिर्सने काम भएकोमा वर्तमान सरकारको कार्यशैलीप्रति बिरोध जनाएको हो ।
बिज्ञप्तीमा अगाडि भनिएको छ – नेपाली काँग्रेसको नेतृत्वमा भएको क्रान्तिलाई आम नेपाली जनताले साथ दिई, कैयन वीरहरुको बलिदानबाट १०४ वर्षको जहाँनिया राणा शासन अन्त्य गर्न सफल भएको ऐतिहासिक, अविस्मरणीय एवं गौरवपूर्ण राष्ट्रिय पर्व फाल्गुन ७ गतेलाई ६२ वर्ष पछि पहिलोपल्र्ट इतिहासबाट नै मेटाउने दुस्प्रयास गर्ने बर्तमान सरकारको सोंच र उग्रबामपन्थीहरुको जमातप्रति नेपाली काँग्रेसको भात्तृ संगठन नेपाली जनसम्पर्क समिति जापान घोर बिरोध एवं भत्सर्ना गर्दछ । २००७ साललाई क्रान्तिको स्मरणस्वरुप हरेक वर्ष सरकारले राष्ट्राध्यक्षको प्रमुख आतिथ्यतामा खुलामञ्चमा र प्रमुख जिल्ला अधिकारीहरुको संयोजकत्वमा ७५ वटै जिल्लामा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ भव्यरुपमा मनाउदै आईरहेको ब्यहोरा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सर्बबिदितै छ, तर यस वर्ष भने सरकारले २००७ सालको क्रान्तिलाई नै बिर्सन खोजेको छ – बिज्ञप्तीमा भनिएको छ ।
यसैगरी बिज्ञप्तीमा अगाडि भनिएको छ – देशको वर्तमान परिस्थितिलाई मनन गर्दै पार्टीहरुबीच एकता र सद्भावको बिकास गरी सहमति र समझदारिता कायम गर्दै देशमा भएको समस्यालाई समाधान गर्नुपर्नेमा उल्टो वातावरण बिथोल्ने कार्यले वर्तमान सरकारको हैसियत आम नेपाली जनतासामु छर्लङ्ग पारेको छ । तमाम नेपाली जनताको प्रयासले जहाँनिया शासन विरुद्धको क्रान्ति सफल भएर मुलुक आधुनिक युगमा प्रवेश गराएको “ऐतिहासिक तथा आमूल परिवर्तन” भन्ने गरिएको दिन फाल्गुन ७ गतेलाई सरकारले अवमूल्यन गर्नु गम्भीर दुर्भाग्य भएको जनसम्पर्क समिति जापानको ठहर छ – बिज्ञप्तीमा उल्लेख छ । ***