टोकियो- जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संगठन नेसाजको आयोजनामा आज टोकियोमा नेसाज नलेज ट्रान्सफर बिचारगोष्ठी सम्पन्न भएको छ ।
“राष्ट्र निर्माणका लागि आधुनिक प्रविधि र आवश्यक नीति” बिषयक उक्त बिचार गोष्ठीको जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले उदघाटन गर्नुभएको थियो । उदघाटनको क्रममा राजदुत डा. भट्टराइले मुलुक निर्माणमा आधुनिक प्रबिधिको उपयोग अपरिहार्य भएको बताउदै नयाँ नेपाल निर्माणमा जापान जस्तो मुलुकमा उच्च शिक्षा हासिल गरिरहेका बिद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रमको पहिलो चरणमा आयोजक समितिका संयोजक डा. बेदप्रसाद काफ़्लेले स्वागत गर्नुभएको थियो भने एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल ईञ्जिनियर एसोसियशनका अध्यक्ष डा. बिष्णुप्रसाद पाण्डेलगायतले बोल्नुभएको थियो । यसैगरी नेसाजका अध्यक्ष विमल अधिकारीको धन्यबाद मन्तब्यद्वारा पहिलो चरणको कार्यक्रमको समापन गरिएको थियो ।
पहिलो चरणको उदघाटन सत्र समापन पश्चात बिभिन्न बिषयका बिज्ञहरुले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत कार्यपत्रहरु आमन्त्रीत र प्रतिस्पर्धात्मक गरी २ किसिममा बिभाजन गरिएको थियो । गत ७ बर्षदेखी आयोजना गर्दै आइरहेको नलेज ट्रान्फ़र कार्यक्रममा यस बर्ष पहिलो पटक उत्कृष्ट कार्यपत्रको लागि पुरस्कारको समेत ब्यवस्था गरिएको थियो । प्रतिस्पर्धामा भाग लिएका मध्ये नागोया बिश्वबिध्यालयमा बिध्याबारिधी गरिरहनु भएका दिवस श्रेष्ठको कार्यपत्र सर्बोत्कृष्ट घोषणा गरिएको थियो । त्यसैगरी अन्तरराष्ट्रिय क्रिष्चियन बिश्वबिध्यालयका जिवकराज बज्राचार्यको कार्यपत्र दोश्रो भएको थियो भने टोकियो कृषि तथा प्राबिधिक बिश्वबिध्यालयकी हेमप्रभा पाण्डे र सुदर्शन भन्डारीको कार्यपत्रले तेश्रो स्थान प्राप्त गरेको थियो । उक्त कार्यक्रममा प्रथम हुनेलाइ २० हजार येन नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने दोश्रो र तेश्रो हुनेहरुलाइ क्रमश: १५ हजार र १० हजार येन नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
टोकियो बिश्वबिद्यालयको कोमावा रिसर्च क्याम्पस हलमा सम्पन्न सो बिचार गोष्ठीमा जापानको बिभिन्न शहरमा उच्चशिक्षा अध्ययनरत, अनुसन्धानरत एवं अध्यापनरत बिभिन्न बिषयका बिशेषज्ञ एवं बिद्वत वर्गको सहभागिता रहेको रहेको थियो ।