- दीपक दाहाल
काठमाडौं- उनीहरूसँग विदेशमा डाक्टरी (पोस्ट ग्र्याजुएसन) गरेको प्रमाणपत्र छ, तर पासपोर्ट हेर्दा अध्ययन अवधिभरि सम्बन्धित देशमा बसेको देखिँदैन। मेडिकल ज्ञान जाँच्दा पनि उनीहरू खरो उत्रिन सक्दैनन्। चीन र रसियाबाट पढेर आएका डेढ सय पिजी डाक्टरहरूमा यस्तो समस्या देखिएको हो।
यसमा अधिकांश स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी, जनरल फिजिसियनदेखि मुटु र मिर्गौला रोग विशेषज्ञसमेत छन्।
‘पासपोर्टलाई मात्र आधार बनाउँदा पनि उनीहरू तीन वर्ष बसेकै देखिएन,’ मेडिकल काउन्सिलका उपाध्यक्ष तथा पिजी कमिटीका अध्यक्ष डा. शशी शर्माले भने, ‘रेजिडेन्सी नै नबसी कसरी पिजी हुन्छ?’
कुनै पनि अस्पतालमा बसेर तीन वर्ष प्राज्ञिक र व्यावहारिक अध्ययन गरेका डाक्टरले सम्बन्धित विषयमा पिजी डिग्री पाउँछन्। यसबीच डेढ सयभन्दा बढी डाक्टरले पिजी डिग्री ल्याए पनि तीन वर्ष त्यही अस्पतालमा काम गरेको प्रमाण देखाउन सकेनन्। काउन्सिलले शंका गर्दै पासपोर्ट माग्यो।
काउन्सिलले पहिले प्रमाणपत्र हेरेकै आधारमा दर्ता गरिदिन्थ्यो। सर्वोच्च अदालतले ‘प्रक्रिया पुर्याएर दर्ता गर्नू’ भनेपछि मात्र काउन्सिलले ती डाक्टरसँग सम्बन्धित विषयको अन्तर्वार्ता लिन थाल्यो। विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा लिइएको यस्तो परीक्षामा अधिकांशले आफ्नो ज्ञान प्रमाणित गर्न नसकेको डा. शर्माले बताए। कतिपयमा त एमबिबिएस सरहको ज्ञानसमेत नभएको काउन्सिल अधिकारीहरू बताउँछन्।
काउन्सिलले उनीहरूको मेडिकल ज्ञान परीक्षण गर्दा तीनपटकको प्रयासमा पनि उनीहरूले मापदण्ड पूरा गर्न सकेनन्,’ शर्माले भने, ‘आधारभूत मेडिकल ज्ञानै नभएका पिजी डिग्रीवालाहरूलाई कसरी दर्ता गर्नू?’
पढाइ अवधिभर सम्बन्धित देशको अस्पतालमा बस्दै नबसी डिग्री लिएर आउने र आधारभूत मेडिकल ज्ञान नभएका डाक्टरलाई विशेषज्ञ चिकित्सकका रूपमा दर्ता रोक्न थालेको काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले बताए।
बिदाको समय कटाउँदा पनि कम्तीमा दुई वर्ष सम्बन्धित कलेजका अस्पतालमा काम गरेको हुनैपर्ने काउन्सिल अधिकारीको भनाइ छ। काउन्सिलको अध्ययनअनुसार नेपालमै बसेर यहाँको अस्पतालमा अभ्यास गरिरहेका डाक्टरले पनि विदेशबाट स्नातकोत्तर सर्टिफिकेट बोकेर आएका छन्।
मध्यस्थकर्ता एजेन्सीले आफैं उपस्थित नभई एजेन्टमार्फत प्रमाणपत्र पठाइदिने गरेको स्रोतले बतायो। पासपोर्ट हेर्न थालेपछि त त्यस्ता डाक्टरले धमाधम पत्रपत्रिकामा पासपोर्ट हराएको सूचना दिन थालेको पाइएको छ। काउन्सिल अधिकारीले त्यस्ता डाक्टरको नाम भने सार्वजनिक गर्न चाहेनन्।
काउन्सिलमा २ हजार ४ सय पिजी डाक्टर दर्ता भइसकेका छन्। वार्षिक सयजना विदेशबाट पढेर आउँछन् भने १ सय ५० जति नेपालमै उत्पादन हुन्छन्।
अब कडा परीक्षा
विशेषज्ञ भनेर आएका चिकित्सकहरूमा सामान्य ज्ञानसमेत नभएपछि काउन्सिलले आगामी दिनमा पिजी पढेर आउने सबैको ज्ञान र सीप दुवै जाँच्ने गरी परीक्षाको तयारी गरेको छ। यसअघि काउन्सिलमा एमबिबिएस डाक्टर दर्ता गर्न लाइसेन्सिङ परीक्षा लिने गरेको भए पनि पिजीका लागि चिकित्सकीय अभ्यास अवधि पूरा गरेको प्रमाण र प्रमाणपत्र भरमा दर्ता गर्ने चलन थियो।