काठमाडौं – बिरलै वर्षा हुने फेब्रुअरी महिनामा मंगलबार रातीबाट २४ घण्टा लामो समय परेको वर्षाका कारण मुलुकको जनजीवन प्रभावित बन्यो।
मनसुनी झरीलाई बिर्साउँदै मुलुकमा २४ वर्ष पछि फेब्रुअरी महिनमा औसत भन्दा झण्डै दोब्बर ३१ दसमलब ७ मिलिलिटर पानी एकैदिन परेको छ। मौसमविद्ले वर्षाका दृष्टिले राम्रो मानेको यसपालीको हिउँदमा बुधबारको मेघले मनसुनी झरीको झल्को दिएको छ। बुधबार साँझसम्म उपत्यका बाहिर सर्वाधिक भैरहवामा ६१ दसमलव ५ पोखरामा ४१ दसमलब २ र जुम्लामा ३७ दसमलव ७ मिलिमिटर वर्षा रेर्कड भएको छ।
हिमाली र पहाडी क्षेत्रमा हिमपात समेत भएको छ। मंगलबार साँझ मुलुकका केही भागमा क्षणिक वर्षाको अनुमान गरेको मौसम पूर्वानुमान महाशाखाले बुधबार विहान ६ बजे सम्म ८ दसमलब १ मिलिमिटर पानी पर्नुका साथै मुलुकभर वर्षासँगै पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको घोषणा गर्न पुग्यो।
मंगलबार दिउँसो २५ दसमलव ७ डिग्री सेल्सियसको न्यानोमा रापिएको उपत्यकामा साँझपख पानी पर्ला भन्ने अनुमान कसैले गरेका थिएनन्। माघे संक्रान्ति देखि बिस्तारै तात्दै गएको उपत्यकाले हिउँद बाँकी नै रहेको बिर्सन थालेको थियो। उपत्यकामा बुधबार अधिकतम तापक्रम ११ दसमलब ५ डिग्री सेल्सियसभन्दा माथि उक्लन सकेन भने आकाशमा बादल छाएकाले न्युनतम तापक्रम पनि ९ दसमलब ६ डिग्री सेल्सियस रहँदा खासै चिसोको अनुभव गराएन।
अधिकतम र न्युनतम तापक्रम नजिकै हुँदा न्यानो हुने मौसमविद बताउँछन्।हिउँद सकिन तीन साता बाँकी रहँदा मौसममा भएको यो फेरबदलले फेब्रुअरी महिनाको पहिलो हिउँदे वर्षा मुलुकभर गराएको हो । ***