काठमाडौं – एकता अभियानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका शीर्ष नेताले बैशाखमा हुने महाधिवेशनपबाट दुबै दल एक बनेर राष्ट्रवादी शक्तिकोरुपमा उदय हुने घोषणा गरेका छन्।
एउटै मोटर चढेर चौतारा पुगेका उनीहरुले एकै मञ्चमा उभिएर राष्ट्रिय संकटले आफूहरुलाई पुनः एकै ठाउँमा ल्याइपुर्याएको बताए।
राप्रपा-राजपा जिल्ला एकता अधिबेशनलाई आइतबार सदरमुकाम चौतारामा संयुक्तरुपमा उदघाटन गर्दै उनीहरुले ‘राष्ट्रियता खतरामा पार्ने’ ठूला तीन दलको विकल्प बन्ने अभियान थालनीको रुपमा एकतालाई औंल्याए।
पार्टी फलाम झैं एक ढिक्का भएर जाने र बीचमा टुटफुट हुन नदिने प्रतिवद्धता जनाउँदै उनीहरुले भने, ‘अब मिलेर सामन्तबाद मास्ने कुरा गर्ने नवसामन्दबादलाई परास्त गर्नुछ।’ ठूला तीन दल र खासगरी माओवादीप्रति बढी आक्रमक ढंगले प्रस्तुत भएका नेताहरुले उनीहरुको विकल्प खोज्ने बेला आएको धारणा राखे।
राप्रपा अध्यक्ष पशुपति सम्शेर राणाले धारिलो संगठन बनाउन पार्टी एकता भएको बताए। उनले तीन ठूला दलको कमजोरीका कारण राष्ट्रियताको जग हल्लिन थालेको आरोप लगाए। ‘शान्ति र संविधान अझै द्धिविधामा रहनुमा उनीहरु नै दोषी छन्,’ उनले भने। माओवादी शान्ति र संविधानमा इमान्दार छ कि छैन अहिलेसम्म थाहा पाउन नसकेको उल्लेख गर्दै उसले मुलुकमा नाटक प्रदर्शन गरिरहेको बताए।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले संकटमा परेको राष्ट्रिय अस्मिताको संरक्षण गर्न बचनमा मात्र नभएर दुबै दल कर्ममा पनि संगठित हुने दाबी गरे। देश बचाउन पशुपति नाथलाई गुहार्ने बेला आएको भन्दै उनले यो बाहेक अर्को कुनै त्यस्तो पक्ष अब बाँकी नरहेको बताए। राजनीतिक दलमा अब पनि चेतना नआए मुलुक दुर्घटनामा पर्ने जनाउँदै थापाले भने, ‘पशुपतिनाथले सबैलाई सद्वुद्धि दिऊन्।’ ***