
यसै पनि एमालेमा तेस्रो नेताका रूपमा स्थापित नेता ओलीलाई पार्टीले औपचारिक रूपमै तेस्रो मर्यादा दिनुलाई एमालेभित्र मात्र होइन, जनस्तरमा समेत स्वाभाविक रूपमा लिइएको छ । यसअघि विभिन्न कार्यक्रममा समेत मर्यादाक्रमकै कारण नेताहरू र आयोजकले समेत अप्ठेरो मान्ने गरेकोमा अब मर्यादाक्रम तोकिएपछि एमालेका सबै नेता सहज रूपमा एउटै मञ्चमा बस्ने वातावरण तयार भएको छ । नेता ओलीभन्दा कनिष्ठ नेताहरू पदीय जिम्मेवारीमा भएकाले उनीहरूलाई पहिला बोलाउनुपर्ने बाध्यता रहेको तर त्यसो गर्न आयोजक र नेताहरू सबैले अप्ठेरो मान्ने गरेका थिए । गत महिना पार्टीको तीनमहिने जनपरिचालन अभियान घोषणाका क्रममा बल्खुमा आयोजित कार्यक्रममा पनि यस्तै प्राविधिक समस्याका कारण नेता ओली अनुपस्थित रहेको बताइन्छ ।
१४ वर्ष जेल बसेर बाहिर निस्कनेबित्तिकैदेखि केन्द्रीय कमिटी सदस्यका रूपमा क्रियाशील ओली एमालेभित्र प्रभावशाली र बलियो सार्वजनिक छवि बनाएका नेता हुनुहुन्छ । ०४९ बाट लगातार स्थायी समिति सदस्य रहँदै आउनुभएका ओलीले पार्टीको संसदीय दलको उपनेताका साथै दुई पटक उपप्रधानमन्त्री र पटक-पटक पार्टीद्वारा गठित आन्दोलन परिचालन कमिटीको प्रमुखका रूपमा काम गर्नुभएको छ ।
पार्टी विभाजनका बेला सिङ्गो पार्टीलाई तत्कालीन महासचिव माधवकुमार नेपाल र उहाँको नाम जोडेर ‘माधव-केपी गुट’ का रूपमा समेत बद्नाम गर्ने कोसिस गरिएबाट पनि पार्टीभित्र रहेको उहाँको प्रभाव उजागर हुन्छ । गत महाधिवेशनमा अध्यक्षका प्रत्यासी उहाँ झलनाथ खनालसँग १ सय १३ मतको अन्तरले पराजित हुनुभएको थियो ।
ओलीलाई तेस्रो वरीयता तोक्नेमा एमालेभित्र कुनै विवाद नभए पनि बाँकी नेताहरूलाई पनि मापदण्ड बनाएर मर्यादाक्रममा राख्नुपर्ने आवाज भने उठेको छ । अहिलेको एमालेको पूर्ववर्ती नेकपा (माले) गठन हुनुभन्दा पनि पहिला निर्मित कोकेका नामले चिनिने को-अर्डिनेसन केन्द्रको कार्यबाहक महासचिव हुँदै मालेको संस्थापक सदस्य, ०४६ को चौथो महाधिवेशनबाट पोलिटब्युरो सदस्य, त्यसयता लगातार स्थायी समिति सदस्य र बेला-बेलामा कार्यबाहक महासचिव भइसक्नुभएका अमृतकुमार बोहरादेखि ०१९ सालबाट विभिन्न कम्युनिस्ट घटकको केन्द्रीय समिति सदस्य, नेकपा (माक्र्सवादी) को पोलिटब्युरो सदस्य, एकतापछि ०४७ बाट लगातार एमालेको स्थायी समिति सदस्य रहँदै आउनुभएका भरतमोहन अधिकारीसम्मको मर्यादाक्रम तोक्नेबारेमा नेताहरूबीच सहमति भइसकेको छ ।
अहिले एमालेमा उपाध्यक्ष र सचिवमा तीन-तीन जना नेता छन् । उनीहरूको पनि मर्यादाक्रम तोकिएको छैन । पदाधिकारी तथा सदस्यहरूको नाम अहिले एमालेको केन्द्रीय कार्यालयले महाधिवेशनमा प्राप्त मतका आधारमा लेख्दै आएको छ र केन्द्रीय कमिटीको माइन्युटमा पनि त्यही अनुुसार लेखिन्छ । यस आधारमा हेर्दा एमालेमा अहिले उपाध्यक्षमा क्रमशः अशोकुमार राई, वामदेव गौतम र विद्या भण्डारी तथा सचिवमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल र युवराज ज्ञवालीको नाम आउँछ । अब भने उहाँहरूमध्ये पनि वरिष्ठता तोकिने बताइएको छ ।
मुख्य नेताहरूको वरिष्ठता तोक्न समस्या नभए पनि केन्द्रीय कमिटीका १ सय १५ जना सदस्यकै मर्यादाक्रम तोक्ने भन एमालेमा सजिलो नहुने देखिएको छ । उमेर, सदस्यता प्राप्त मिति, सङ्गठित मिति, केन्द्रीय कमिटीमा आएको मिति वा अन्य के कुरालाई आधार बनाउने भन्नेमा एमालेमा मापदण्ड बनिसकेको छैन । एमाले नेताहरूले पहिलो चरणमा पूरै केन्द्रीय समितिको नभई पोलिटब्युरोसम्ममा मर्यादाक्रम तोक्ने मनस्थिति बनाएका छन् ।
यसअघि १० वर्षसम्म स्थायी समितिमा रहिसकेका प्रदीप नेपाल, केशव बडाल र मुकुन्द न्यौपानेदेखि एक पटक पनि केन्द्रीय समितिको पूर्ण सदस्य नभई र वैकल्पिक केन्द्रीय सदस्यबाट एकैपटक पोलिटब्युरो सदस्य बनेकासम्म पोलिटब्युरोमा छन् । एक नेताका अनुसार, पोलिटब्युरोभन्दा तल झरेर मर्यादाक्रम तोक्न थाल्दा पार्टी नयाँ समस्यामा फस्ने भएकाले त्यतातिर नलाग्ने सम्भावना रहेको छ । उनले भने- ‘मुख्य नेताका हकमा बेग्लै कुरा हो । तर, प्रत्येक सदस्यलाई नम्बर तोकेर एक नम्बर तल वा माथि पार्दा त्यसबाट आन्दोलनलाई के फाइदा हुन्छ ?’