काठमाडौँ- माओवादीको जारी केन्द्रीय समिति बैठकमा नेताहरूले गीत, उखान टुक्का बताएर प्रतिवेदनको व्याख्या गरेका छन् । केन्द्रीय सदस्य सन्तोष बुढा मगरले अध्यक्ष दाहालको प्रतिवेदन अध्ययनपछि आफूले एउटा गीतको कल्पना गरेको बताए, ‘लालुपाते फूलेर लाल भयो, आज मेरो जोगीको चाल भयो ।’ बुढाले भने,’अध्यक्षको प्रतिवेदन अध्ययन गरेपछि मैले यस्तो अनुभव लिएँ ।’
उनले वैद्यको प्रतिवेदनबारे फेरि अर्को गीत भने- ‘उपाध्यक्ष वैद्यको प्रतिवेदन पढेपछि ‘लाउ माया लाउनेले, नलाउ माया छोडेर जानेले, भन्ने गीतको अनुभव भयो ।’
अर्का केन्द्रीय सदस्य पदम राईले अध्यक्ष दाहालको प्रतिवेदनलाई ‘झिङ्गा’को संज्ञा दिए । ‘झिङ्गा फोहोरमा बस्छ । ऊ आफूलाई राम्रो देखाउन कहिले पखेटा चलाउँछ, कहिले खुट्टा चलाउँछ । तर, झिङ्गा फोहरी नै देखिन्छ । अध्यक्षको प्रतिवेदन पनि त्यस्तै छ’, राईले भने ।