टोकियो – जापानको नोदा सरकारले अगाडी सारेको उपभोक्ता कर बृद्धिको योजनाको बारेमा बिभिन्न संचार माध्यामहरुले गरेको सर्बेक्षणमा अधिकांश जापानी जनताहरुले त्यसको बिरोध गरेको जनाइएको छ । हालै मात्र प्रधानमन्त्री नोदाले उपभोक्ता करको हालको ५ प्रतिशत दरलाई बृद्धि गरी १० प्रतिशत पुर्याउने योजना ल्याएको छ ।
त्यस सम्बन्धी क्योदो समाचारले गरेको एक सर्बेक्षण अनुसार ७९ दशमलब ५ प्रतिशत जनताले त्यसको बिरोध गर्दै सरकारले अनावश्यक खर्च कम गरेर देशको बजेट घाटा पूरा गर्नेतर्फ कदम चाल्नु पर्ने बताएका छन् । त्यसैगरी जापानको अर्को संचार माध्याम योमिउरी दैनिकले गरेको सर्बेक्षण अनुसार ५५ प्रतिशत जनता उपभोक्ता कर बृद्धिको बिरोधमा छन् भने ३९ प्रतिशत जनता समर्थनमा रहेको थाहा लागेको छ । जापानको अर्को प्रसिद्ध संचार माध्याम आसाही सिन्बुनले गरेको सर्बेक्षणमा भने ५७ प्रतिशत जनताले उपभोक्ता कर बृद्धिको बिरोध गरेका छन् ।
यसैबीच आसाही सिन्बुनले जनाए अनुसार हालै मात्र पुनर्गठन भएको नोदा सरकारको समर्थनमा २९ प्रतिशत जनताहरु रहेका छन् । उक्त अंक गत महिनाको तुलनामा २ प्रतिशत कम रहेको छ ।
स्मरणरहोस्, जापानको कुल गार्हथ्य उत्पादन (GDP) को दोब्बर रहेको राष्ट्रिय ऋणलाई सन्तुलनमा ल्याएर अघि बढ्ने हो भने नोदा सरकारले ल्याएको उपभोक्ता कर बृद्धिको योजना आवश्यक भएको बिश्लेषकहरुको भनाइ रहेको छ ।