उपाध्यक्ष मोहन वैद्य समूहका अध्यक्ष रुक्म लामिछानेलाई थाहै नदिइ कार्यक्रम गर्न लागेपछि विवाद देखिएको हो । लामिछानेले शुक्रबार जनसञ्चार अभियानमा पत्रकार सम्मेलन गरी शनिबार हुने भनिएको कार्यक्रम आधिकारिक नभएको बताए ।
‘संगठनको प्रतिष्ठा र निर्णय विरुद्ध भोली हुने भनिएको कर्मचारी संगठनको वर्षगाँठ कार्यक्रम आधिकारिक होइन,’ लामिछानेले भने । संस्थापन पक्षले एकलौटीरुपमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराई ‘लालध्वज’लाई अतिथि बनाएर कार्यक्रम गर्न लागेका हुन् ।
लामिछानेले अध्यक्ष र प्रधानमन्त्री मिलेर संगठन फुटाउने खेलमा लागेको आरोप लगाए । ‘बहुमत पदाधिकारी र केन्द्रीय सदस्यलाई जानकारी नदिइ अध्यक्ष र प्रधानमन्त्री कार्यक्रममा सहभागी भएपछि उनीहरुले संगठन फुटाउने लागेको प्रष्ट हुन्छ’ उनले भने, ‘फुटको नेतृत्व अध्यक्ष र प्रधानमन्त्रीले गर्दै छन् ।’
एघार जना पदाधिकारीमध्ये तीन जना अध्यक्ष, दुई जना भट्टराई र छ जना बैद्य पक्षका छन् । पचासी सदस्यीय केन्द्रीय सदस्यहरुमध्ये पनि बहुमत सदस्य बैद्यको पक्षमा रहेका छन् ।
अध्यक्ष दाहाल पक्षधर मानिने सचिव अजित तामाङले सरसल्लाह गरेर नै स्थापना दिवस मनाउने लागेको दाबी गरे ।