काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारले सात बुँदे सहमतिलाई ओझेलमा पार्ने गरी मुलुकमा दण्डहिनतालाई प्रश्रय दिन खोजेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस किर्तिपुर नगर समितिले गणेशमान सिंहको ९६ औं जन्मजयन्तीको अवसरमा शनिबार गरेको रक्तदान कार्यक्रममा सिंहले अदालतले दोषी ठहर गरेकाहरुलाई माफी दिन सिफारिस गर्दै हिंडेर सरकारले दण्डहिनता बढाउन खोजेको बताउनुभयो ।
‘अदालतले दोषी ठहर गरेका व्यक्तिलाई आममाफी दिन सिफारिस गरेर सरकारले दण्डहीनता बढाएको छ’, महामन्त्री सिंहले भन्नुभयो, ‘यो सात बुँदे सहमतिको विरुद्ध छ ।’ हत्याको आरोपमा अदालतले दोषी ठहर गरेका माओवादी सभासद बालकृष्ण ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष गरेको सिफारिस सरकारले तत्काल फिर्ता लिनु पर्ने माग सिंहले गर्नुभयो ।
उहाँले सरकारले माफीको सिफारिस फिर्ता नगरे काँग्रेसले सवै दलसँग मिलेर देशभर विरोधका कार्यक्रम गर्ने चेतावनी दिनुभयो । काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका उर्जा राज्यमन्त्री सूर्यमान दोङ्गलाई हटाउन पनि सिंहले माग गर्नुभयो ।