टोकियो – जापानको हक्काइडो टापुस्थित कुसिरो सहरमा आफ्नै नाबालक छोरीलाई घरमा एक्लै छाडेर मदिरा पिउन जाने एक महिला र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । ‘बाल परित्याग’को गम्भीर आरोपमा २५ वर्षीया आमा र उनका २७ वर्षीय प्रेमीलाई नियन्त्रणमा लिइएको हो ।
हक्काइडो ब्रोडकास्टिङ कर्पोरेशनका अनुसार, ट्याटू आर्टिस्टका रूपमा काम गर्ने ती महिला र उनका प्रेमी (कम्पनी कर्मचारी) ले शनिबार राति १० बजेदेखि ती बालिकालाई प्रेमीको घरमा एक्लै छाडेका थिए । उनीहरू सहरका विभिन्न भट्टी र क्लबहरूमा मदिरा पिउन गएका थिए । करिब साढे ११ घण्टासम्म आमा नआएपछि र भोकले सहन नसकेपछि ती बालिका आइतबार बिहान घरबाट बाहिर निस्किएकी थिइन् ।
आइतबार बिहान करिब साढे ९ बजे ती बालिका एक्लै एउटा ‘कन्भिनियन्स स्टोर’मा पुगेकी थिइन् । ती सानी बालिकालाई एक्लै देखेपछि र उनले ‘मलाई भोक लाग्यो’ भन्दै बिलौना गरेपछि पसलका कर्मचारीले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । ठिक त्यही समयमा ती महिलाले पनि ‘मेरो छोरी हराइन्’ भन्दै प्रहरीलाई फोन गरेकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा आमा र प्रेमी दुवै मदिराको नशामा लठ्ठ भएर घरबाहिर रहेको र बालिका भोकले तड्पिएर आफैँ सहयोग खोज्न सडकमा निस्किएको पत्ता लाग्यो ।
प्रहरीका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ र उनलाई कुनै शारीरिक चोट लागेको छैन । प्रहरी बयानका क्रममा आमा र उनका प्रेमीले रमाइलोका लागि मदिरा पिउन जाँदा बालिकालाई घरमा एक्लै छाडेको कुरा स्वीकार गरेका छन् । जापानमा पछिल्लो समय अभिभावकको लापरवाहीका कारण बालबालिका जोखिममा पर्ने घटनाहरू बढ्दै गएपछि प्रहरीले यस मामलालाई निकै गम्भीरताका साथ लिएको छ ।








