टोकियो – टोकियोको उत्तरमा अवस्थित उचुनामिया सहरको मुख्य केन्द्रमा जङ्गली भालु देखिएपछि जनजीवन त्रसित बनेको छ । भालुलाई नियन्त्रणमा लिने प्रयास सफल हुन नसकेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले मंगलबार लगातार दोस्रो दिन पनि सहरका सबै विद्यालयहरू बन्द गराएको छ ।
शनिबार बिहानदेखि सहरका विभिन्न व्यस्त क्षेत्रमा पटक-पटक भालु देखिएपछि नगर अधिकारी र स्थानीय शिकारीहरूको टोली उच्च सतर्कताका साथ खोजी कार्यमा जुटेका छन् । अधिकारीहरूका अनुसार भालु एक जङ्गलमा पसेको देखिए पनि त्यसको निश्चित स्थान पत्ता लाग्न सकेको छैन ।
सोमबार साँझ एक माध्यमिक विद्यालय नजिकैको जङ्गलमा भालु फेला परेपछि इन्फ्रारेड क्यामरा जडित ड्रोन र ‘ट्रान्क्विलाइजर गन’ (बेहोस बनाउने बन्दुक) को सहायताले त्यसलाई समात्ने योजना बनाइएको थियो। तर, सो क्षेत्र ‘नो-फ्लाई जोन’ (उडान निषेधित क्षेत्र) मा परेका कारण कानुनी जटिलताले ड्रोन उडाउन सकिएन । फलस्वरूप, मध्यरातमा खोजी कार्य स्थगित गरिएको थियो भने मंगलबार बिहानैदेखि पुनः अपरेसन सुरु गरिएको छ ।
मंगलबार बिहानै उचुनामिया विश्वविद्यालयको परिसरमा समेत भालु देखिएको छ । बिहान साढे ५ बजेतिर एक पैदलयात्रीले विश्वविद्यालयको मिनेमाची क्षेत्रमा भालु देखेको भन्दै प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर भालुलाई प्रत्यक्ष देखे पनि केही बेरमै त्यो फेरि ओझेल परेको थियो। हाल प्रहरी र नगरका कर्मचारीहरूले विश्वविद्यालय परिसरमा सूक्ष्म खोजी गरिरहेका छन् ।
भालुको त्रासका कारण उचुनामिया नगरपालिकाले सञ्चालन गरेका सबै ९४ वटा प्राथमिक र माध्यमिक विद्यालयहरूमा मंगलबार पनि बिदा दिइएको छ। हालसम्म भालुको आक्रमणबाट कोही पनि घाइते भएको खबर छैन । प्रशासनले स्थानीय बासिन्दाहरूलाई घरबाहिर ननिस्कन र शङ्कास्पद चहलपहल देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अपील गरेको छ ।








