Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानमा साइकल यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले अप्रिल १ देखि नयाँ ट्राफिक नियम कार्यान्वयनमा ल्याउने भएको छ । ‘ब्लु टिकट’ नाम दिइएको यस नयाँ प्रणालीअन्तर्गत अब साइकल चलाउँदा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले स्थलगत रूपमै नगद जरिवाना तिर्नुपर्नेछ ।

विशेष गरी साइकल चलाउँदा मोबाइल फोनको प्रयोग गर्ने, ट्राफिक लाइट पालना नगर्ने र अन्य जोखिमपूर्ण व्यवहार गर्नेहरूलाई लक्षित गरी यो नियम ल्याइएको हो । यसअघि जापानमा साइकल चालकका लागि दुईवटा मात्र विकल्प थिए- कि त प्रहरीले सामान्य ‘पहेंलो कार्ड’ दिएर सचेत गराउँथ्यो, कि त ‘रेड टिकट’ मार्फत सिधै फौजदारी अभियोग चलाउनुपर्ने हुन्थ्यो । सानातिना गल्तीमा ‘पहेंलो कार्ड’ प्रभावकारी नभएको र ‘रेड टिकट’ को कानुनी प्रक्रिया निकै लामो र झन्झटिलो भएका कारण प्रहरीलाई नियमनमा कठिनाइ भइरहेको थियो ।

सन् २०२५ मा पैदलयात्री र साइकल ठोक्किएर भएका दुर्घटनाको संख्या हालसम्मकै उच्च (करिब ३ हजार ३ सय) पुगेपछि सरकारले कडा कदम चालेको हो । तथ्याङ्कअनुसार गम्भीर वा ज्यान जाने गरी भएका ७५ प्रतिशत साइकल दुर्घटनामा साइकल चालककै गल्ती भेटिने गरेको छ ।के हो ‘ब्लु टिकट’ प्रणाली ?
नयाँ व्यवस्थाअनुसार १६ वर्षभन्दा माथिका साइकल चालकले नियम मिचेमा प्रहरीले ‘ब्लु टिकट’ जारी गर्नेछ । यसको मुख्य उद्देश्य चालकलाई सचेत गराउनु र सामान्य गल्तीमै फौजदारी मुद्दा चल्नबाट जोगाउनु हो ।

ब्लु टिकट पाएपछि चालकले तोकिएको जरिवाना रकम एक हप्ताभित्र बैंक वा हुलाक कार्यालयमा बुझाउनुपर्नेछ । समयमै जरिवाना तिरेमा उक्त विषय त्यहीँ टुङ्गिनेछ र चालकमाथि कुनै फौजदारी रेकर्ड रहने छैन । तर जरिवाना नतिरेको खण्डमा भने मुद्दा अदालतसम्म पुग्न सक्छ ।

नयाँ प्रणालीअन्तर्गत १०० भन्दा बढी प्रकारका नियम उल्लङ्घनमा जरिवाना तोकिएको छ:-

  • मोबाइल फोन प्रयोग : साइकल चलाउँदा मोबाइल फोन चलाएको भेटिएमा सबैभन्दा बढी १२ हजार येन जरिवाना लाग्नेछ ।
  • गलत दिशा र लाइट मिच्ने : सडकको गलत दिशाबाट साइकल चलाएमा वा ट्राफिक लाइट रातो हुँदा नरोक्किएमा ६ हजार येन जरिवाना हुनेछ ।
  • हेडफोन र छाताको प्रयोग : साइकल चलाउँदा हेडफोन लगाउने, छाता ओढ्ने वा रातिको समयमा लाइट नबाली चलाएमा ५ हजार येन जरिवाना तिर्नुपर्नेछ ।
  • दोहोरो सवारी : एकै साइकलमा दुई जना चढेको खण्डमा ३ हजार येन जरिवाना लाग्नेछ ।

मादक पदार्थ सेवनमा भने ‘रेड टिकट’
सामान्य गल्तीमा ‘ब्लु टिकट’ दिइने भए तापनि मादक पदार्थ सेवन गरेर साइकल चलाउने चालकलाई भने पहिलेकै ‘रेड टिकट’ दिइनेछ । यो गम्भीर अपराध मानिने हुनाले यसमा चालकलाई जेल सजाय, भारी जरिवाना र स्थायी फौजदारी रेकर्ड समेत हुन सक्ने प्रावधान यथावत् राखिएको छ ।

जापानमा रहेका नेपाली समुदाय र अन्य विदेशी नागरिकहरूलाई पनि यो नयाँ नियमबारे सचेत रहन र अप्रिल १ अगावै ट्राफिक नियमबारे जानकारी लिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया