समाचार सुन्नुहोस :
काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू नयाँ बन्ने सरकारमा मन्त्री बन्न लागेको भन्ने चर्चा निराधार रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले केही सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा फैलिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता दाबी गलत भएको स्पष्ट पारे। नेपालको संविधानअनुसार सांसद नभएको व्यक्ति मन्त्री बन्न नसक्ने उल्लेख गर्दै उनले यस्तो सम्भावना नै नरहेको बताए।
घिसिङले जनताको मतविपरीत कुनै वैकल्पिक बाटो अपनाएर मन्त्री बन्ने सोच पनि नगरेको स्पष्ट पारेका छन्। साथै, सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म कसैसँग कुनै प्रकारको छलफल नभएको जानकारी दिएका छन्।
उनले पार्टी अहिले चुनावी परिणामको समीक्षा गर्दै संगठन सुदृढ बनाउने काममा केन्द्रित रहेको बताए। गलत सूचना नफैलाउन र भ्रममा नपर्न उनले सबैलाई आग्रह गरेका छन्।








