समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापा केन्द्रीय समितिबाट आफ्नो राजीनामा अस्वीकृत भएपछि आज मंगलवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। यसअघि तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकार गर्दै ६ बुँदे निर्णय गरेको थियो।
आज पनि केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी गरिएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकले संविधान संशोधनका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गर्नेछ। साथै १५औँ महाधिवेशनको तयारीबारे पनि छलफल गरिनेछ।
बैठकमा प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ तथा शुभेच्छुक संस्थाको भूमिका र जनसम्पर्क समितिका विषयमा पनि मुख्य रूपमा छलफल हुने जनाइएको छ।








