Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा न्यायको माग गर्दै आन्दोलनको अग्रपङ्क्तिमा रहेका कृष्णप्रसाद जैसी आफैँ अर्को सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शनका पीडितहरूको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र संस्थापक जीवी राईविरुद्ध जाहेरी दिने जैसीलाई पोखराकै धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले जैसीलाई पक्राउ गरेको हो । वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनअनुसार धनुष सहकारीमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको देखिएपछि थप अनुसन्धानका लागि रजिस्ट्रार कार्यालयले चैत ८ गते प्रहरीलाई पत्राचार गरेको थियो ।

यसरी खुल्यो ठगीको जालो
साविकको साइनो र धनुष सहकारी एकापसमा गाभिएर बनेको धनुष बचत तथा ऋण सहकारीमा व्यापक आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ । २०८१ साल पुस महिनामा गरिएको प्रारम्भिक छानबिनमा १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको प्रतिवेदन सार्वजनिक भएको थियो । रजिस्ट्रार कार्यालयले पटक-पटक रकम शोधभर्नाका लागि निर्देशन दिए पनि करिब ६ करोड रुपैयाँ मात्र असुल भएपछि बाँकी १२ करोड ५६ लाख रुपैयाँका लागि कानुनी प्रक्रिया अघि बढाइएको हो ।

प्रतिवेदनअनुसार कृष्णप्रसाद जैसी उक्त सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको भेटिएको छ । उनलाई यो प्रकरणको मुख्य योजनाकारमध्ये एक मानिएको छ ।

कृष्णप्रसाद जैसी पोखरामा सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका सक्रिय सदस्य थिए । उनकै जाहेरीका आधारमा रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर १ अर्ब ५१ करोड बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो । सोही मुद्दामा लामिछाने ८४ दिन हिरासतमा बसी ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

विगतमा चुनावी प्रचारका क्रममा रास्वपा उम्मेदवार विन्दु गुरुङलाई ‘सहकारीले पैसा नदिएका कारण छोराछोरीको स्कुल फि तिर्न नसकेको’ भन्दै विद्यालयको बिल थमाएर जैसी चर्चामा आएका थिए ।

 

तपाईको प्रतिक्रिया