समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएपछि थापाले नैतिक जिम्मेवारी स्वीकार्दै उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेका थिए। तर, केन्द्रीय कार्यसमितिको बैठकले उक्त राजीनामा सर्वसम्मत रूपमा अस्वीकार गरेको हो।
बैठकले वर्तमान राष्ट्रिय परिस्थिति जटिल रहेको भन्दै यस्तो समयमा थापाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको छ। राजीनामा स्वीकृत गर्दा पार्टीभित्र अस्थिरता र अन्योल बढ्न सक्ने तथा कार्यकर्ताको मनोबल कमजोर हुने सम्भावना रहेको पनि उल्लेख गरिएको छ।
त्यस्तै, यो राजीनामा बाध्यकारी नभई नैतिक आधारमा दिइएको भएकाले अस्वीकार गर्नु उपयुक्त ठानिएको जनाइएको छ। पार्टीले सामूहिक जिम्मेवारीको सिद्धान्तलाई प्राथमिकता दिँदै नेतृत्व स्थायित्वमा जोड दिएको छ। साथै, ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई निरन्तरता दिन र आगामी महाधिवेशनको तयारीका लागि पनि थापाकै नेतृत्व आवश्यक ठहर गरिएको छ।








