समाचार सुन्नुहोस :
काठमाडौँ – भारतले आगामी जुन महिनादेखि लिपुलेक भञ्ज्याङ हुँदै चीनसँगको सीमा व्यापार पुनः सञ्चालन गर्ने तयारी गरेको छ। कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको यो मार्ग करिब ६ वर्षपछि खुलाउन लागिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार सुरुवातमा जुनदेखि सेप्टेम्बरसम्म व्यापार चलाउने योजना छ, जसलाई मौसमअनुसार लम्ब्याउन सकिनेछ।
सडक पूर्वाधार सुधार भएसँगै यस वर्ष व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। तर, लिपुलेक क्षेत्र नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै आएको संवेदनशील स्थान भएकाले यो निर्णयले पुनः कूटनीतिक बहस बढ्ने सम्भावना देखिएको छ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि आफ्नो दाबी दोहोर्याउँदै आएको छ। भारत र चीनले भने यस नाकालाई द्विपक्षीय व्यापारका लागि प्रयोग गर्दै आएका छन्, जसप्रति नेपालले असहमति जनाउँदै आएको छ। उच्च हिमाली क्षेत्रमा पर्ने यो नाका परम्परागत रूपमा व्यापार र तीर्थयात्राका लागि महत्वपूर्ण मानिन्छ।








