टोकियो – जापानमा मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाउने विरुद्धको कारबाहीमा निकै कडाइ गरिएको छ । सन् २०२५ मा मात्रै मापसे गरी साइकल चलाएको आरोपमा १५ सय ७ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५ गुणाले बढी हो ।
सन् २०२४ मा यो संख्या मात्र २३ थियो । नेशनल पुलिस एजेन्सीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सन् २०२४ नोभेम्बरदेखि लागू भएको संशोधित सडक ट्राफिक ऐनका कारण कारबाहीको संख्यामा यो भारी वृद्धि देखिएको हो ।
जापानको नयाँ कानुनी व्यवस्था अनुसार, जसले मापसे गरेर साइकल चलाउँछ, उसले कार वा अन्य मोटर गाडी चलाउँदा पनि सडकमा गम्भीर जोखिम निम्त्याउन सक्ने प्रहरीको ठहर छ । साइकल चलाउँदा गरिएको उल्लंघनका लागि चालकको ‘डेमेरिट पोइन्ट’ नकाटिए पनि सार्वजनिक सुरक्षा आयोगले त्यस्ता व्यक्तिलाई ६ महिनासम्मका लागि मोटर गाडी चलाउन प्रतिबन्ध (लाइसेन्स निलम्बन) लगाउन सक्ने प्रावधान छ ।
नयाँ नियम अनुसार, प्रतिलिटर श्वासमा ०.१५ मिलिग्राम वा सोभन्दा बढी अल्कोहलको मात्रा भेटिएमा साइकल चालकलाई मोटर चालक सरह नै फौजदारी कारबाही गरिन्छ । यसमा दोषी पाइएमा तीन वर्षसम्म कैद वा ५ लाख येनसम्म जरिवाना हुन सक्छ ।
तथ्याङ्क अनुसार ओसाकामा सबैभन्दा बढी ५०२ जनाको लाइसेन्स निलम्बन गरिएको छ भने टोकियोमा २५४ जना कारबाहीमा परेका छन् । १३ वटा प्रान्तमा भने हालसम्म यस्तो निलम्बनको घटना दर्ता भएको छैन ।
प्रहरीले आगामी अप्रिलदेखि साइकलका साना ट्राफिक नियम उल्लंघनमा पनि जरिवाना तिराउने गरी ‘ब्लु टिकट’ प्रणाली सुरु गर्ने तयारी गरेको छ। साइकल दुर्घटनाबाट पैदलयात्रीलाई बचाउन र सडक सुरक्षा कायम गर्न यो कदम चालिएको प्रहरीको भनाइ छ ।








