समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको प्रतिक्रिया दिएका छन्।शुक्रबार केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीसँग बोल्दै उनले चुनावी नतिजालाई मात्रै आधार बनाएर नेतृत्वको मूल्याङ्कन गर्नु गलत हुने धारणा राखे।
पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो।‘एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्दैन,’ केसीले भने। केसीले कार्यकर्तालाई चुनावी परिणामबाट आत्तिनु नपर्ने भन्दै धैर्य राख्न आग्रह गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी लाई स्थिरता र विकासका लागि काम गर्न सुझाव दिँदै लोकतन्त्र जोगाउने अभियानमा कांग्रेसले साथ दिने बताए।
पार्टीभित्र रहेका समस्या र कमजोरी तत्कालै समाधान हुन नसक्ने उल्लेख गर्दै उनले छोटो समयमा ठूलो परिवर्तनको अपेक्षा गर्नु व्यवहारिक नहुने टिप्पणी गरे।








