समाचार सुन्नुहोस :
काठमाडौँ – पोर्चुगलमा अस्थायी बसोबास कार्ड (टीआरसी) लिन आवेदन दिएका करिब १५ सयदेखि २ हजार नेपाली कानुनी झमेलामा परेका छन्। एआईएमए ले उनीहरूले पेश गरेको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा त्यसमा लागेको छाप नक्कली भेटिएपछि आवेदन अस्वीकृत गरेको हो।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार, समस्या विशेषगरी २०२४ जुलाईदेखि २०२५ अप्रिलबीच प्रमाणीकरण गरिएका कागजातमा देखिएको छ। यसमध्ये करिब १५० जनालाई देश छाड्न भनिएको छ। तर उनीहरूले अदालतमार्फत आफूलाई निर्दोष सावित गर्ने अवसर पाउनेछन्।
समस्या नयाँ दिल्लीमार्फत कागजात प्रमाणीकरण गर्दा बढी देखिएको बताइएको छ। केही एजेन्टले नक्कली छाप प्रयोग गर्दा नेपालीहरू समस्यामा परेको खुलेको छ। यस्ता गतिविधिमा संलग्न केही एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले यो विषयलाई कूटनीतिक रूपमा उठाएको छ र मानवीय दृष्टिले समाधान खोज्न पोर्चुगलसँग आग्रह गरिएको छ।








