Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – जापानी प्रधानमन्त्री सानाय टाकाइचीले बिहीबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरी दुई देशबीचको रणनीतिक गठबन्धनलाई पुन: पुष्टि गरेकी छिन् । इरानसँगको युद्ध र सामुद्रिक सुरक्षाका विषयमा अमेरिकाले सहयोगी राष्ट्रहरूको भूमिकामाथि प्रश्न उठाइरहेका बेला यो महत्वपूर्ण भेट भएको हो ।

भेटका क्रममा टाकाइचीले ट्रम्पलाई विश्व शान्तिका लागि सक्षम नेताको रूपमा प्रशंसा गरिन् । उनले अङ्ग्रेजीमा ‘जापान इज ब्याक’ (जापान फर्किएको छ) भन्दै दुई देशको सम्बन्धलाई ‘नजिकका साथी’ का रूपमा व्याख्या गरिन् । राष्ट्रपति ट्रम्पले पनि टाकाइचीलाई एक ‘शक्तिशाली र लोकप्रिय महिला’ को संज्ञा दिँदै प्रशंसा गरे । भेट सौहार्दपूर्ण देखिए पनि इरान युद्ध र हर्मुज जलसन्धिको सुरक्षालाई लिएर दुई नेताबीच केही असमझदारी देखिएको छ ।

ट्रम्पले जापानले आफ्नो तेल आपूर्ति हुने जलसन्धिको सुरक्षामा थप सक्रिय भूमिका खेल्नुपर्ने र अमेरिकी सेनाको खर्चमा सहयोग गर्नुपर्ने दबाब दिएका छन् । जवाफमा टाकाइचीले जापानको संविधानका सीमितताहरूका बाबजुद अमेरिकालाई सहयोग गर्ने उपायहरूबारे चर्चा गरेकी छिन् ।भ्रमणकै क्रममा अमेरिका र जापानबीच ४० अर्ब डलर बराबरको आणविक ऊर्जा सम्झौता हुने अपेक्षा गरिएको छ । यस सम्झौताअन्तर्गत ‘जीई भर्नोभा’ र ‘हिटाची’ कम्पनीले अमेरिकाका टेनेसी र अलाबामा राज्यमा अत्याधुनिक साना मोडुलर रियाक्टरहरू निर्माण गर्नेछन्, जसले अमेरिकाको विद्युत् उत्पादनमा सहयोग पुर्‍याउनेछ ।

टाकाइचीले मध्यपूर्वमा अमेरिकी सेना केन्द्रित हुँदा पूर्वी एसियामा चीनको प्रभाव बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन्। विशेषगरी ताइवानको सुरक्षा र इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी प्रतिबद्धता कायमै रहोस् भन्ने जापानको चाहना रहेको उनले स्पष्ट पारिन् । जापानकी पहिलो महिला प्रधानमन्त्री टाकाइची पूर्वप्रधानमन्त्री सिन्जो आबेकी विश्वासपात्र मानिन्छिन्। आबेकै पथमा हिँड्दै उनले अमेरिकासँगको व्यक्तिगत र राजनीतिक सम्बन्धलाई सुदृढ बनाउन खोजेकी छिन् । यो भेटपछि ट्रम्पको चीन भ्रमण केही समयका लागि पछाडि सरेको छ ।

 

तपाईको प्रतिक्रिया