टोकियो – जापानको सेन्दाई जिल्ला अदालतले एक ३५ वर्षीया नर्सरी शिक्षिकाको हत्या गरी शव बेपत्ता पारेको अभियोगमा एक २२ वर्षीय युवकलाई २१ वर्षको कैद सजाय सुनाएको छ । अदालतले मियागी प्रान्तका बेरोजगार युवक रेन्मा सातोलाई नर्सरी शिक्षिका युका ग्योजीको हत्या र शव बेपत्ता पारेको अभियोगमा दोषी ठहर गरेको हो ।
गत वर्ष अप्रिल १२ मा भएको उक्त घटनामा सातोले शिक्षिकाको हत्या गरी शव समुद्री किनारमा फालेका थिए । भोलिपल्ट बिहानै फेला परेको ग्योजीको शवमा छाती र शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएका गम्भीर चोटहरू भेटिएका थिए । प्रहरीले घटनास्थल नजिकै देखिएको सातोको कारको सीसीटीभी फुटेज र पीडितसँग भएको अन्तिम फोन संवादका आधारमा उनलाई पक्राउ गरेको थियो ।
हत्यापछि सातोले ती शिक्षिकाको पर्स र नगद समेत लुटेको अनुसन्धानबाट खुलेको छ । अदालतले यसलाई जघन्य अपराध मान्दै २१ वर्षको लामो कारागार सजाय सुनाएको हो ।








