टोकियो – जापानमा लगातार पाँचौं वर्ष जग्गाको मूल्य बढेको छ । सुस्त तर सकारात्मक आर्थिक सुधार र विदेशी पर्यटकको चापसँगै देशभर जग्गाको औसत मूल्य २.८ प्रतिशतले उकालो लागेको हो । यो वृद्धि सन् १९९० को दशकमा जापानको ‘बबल अर्थतन्त्र’ फुटेयताकै सबैभन्दा उच्च हो ।
जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अनुसार, व्यावसायिक र आवासीय दुवैतर्फको जग्गाको भाउमा उछाल आएको छ । विदेशी पर्यटकको आगमन बढेसँगै पसल र होटलको माग उच्च हुँदा व्यावसायिक जग्गाको मूल्य देशभर ४.३ प्रतिशतले बढेको छ ।
टोकियो, ओसाका र नागोया जस्ता प्रमुख महानगरमा व्यावसायिक जग्गाको मूल्य ७.८ प्रतिशतसम्मले आकासिएको छ । आवासीय जग्गातर्फ देशभर २.१ प्रतिशतको वृद्धि देखिए पनि राजधानी टोकियो १८ वर्षपछि मूल्य वृद्धिको शीर्ष स्थानमा फर्किएको छ । राजधानीको मुटुमा सुविधायुक्त अपार्टमेन्ट (कन्डोमिनियम) को उच्च माग नै यसको मुख्य कारण भएको बताइएको छ ।
स्थान विशेषको कुरा गर्दा, सम्पन्न पर्यटकहरूको आकर्षणमा रहेको नागानो प्रिफेक्चरको स्की रिसोर्ट क्षेत्र ‘हाकुबा’मा आवासीय जग्गाको भाउ ३३ प्रतिशतले बढेको छ । त्यस्तै, सेमीकन्डक्टर उद्योग फस्टाइरहेको होक्काइडोको ‘चितोसे’ स्टेसन वरपर व्यावसायिक जग्गाको भाउ ४४.१ प्रतिशतले उकालो लागेको छ ।
यसका बाबजुद सन् २०२४ को सुरुवातमै गएको शक्तिशाली भूकम्पका कारण इशिकावा प्रिफेक्चरको वाजिमा र होक्काइडोको होम्बेचुमा भने जग्गाको मूल्य ६.३ प्रतिशतले घटेको छ । निर्माण लागत बढेका कारण कतिपय मानिस र व्यवसायले घर तथा विकास परियोजना खरिदमा ढिलाइ गर्दा केही ठूला सहरहरूमा भने वृद्धिको दर अघिल्लो वर्षको तुलनामा खुम्चिएको छ ।
यसैगरी, टोकियोको प्रख्यात किनमेल क्षेत्र गिन्जास्थित ‘यामानो म्युजिक’ कम्पनीको मुख्य स्टोर रहेको स्थान लगातार २०औं वर्ष पनि जापानकै सबैभन्दा महँगो जग्गा बनेको छ । अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले बढेर यहाँ प्रति वर्गमिटर जग्गाको मूल्य ६ करोड ७१ लाख येन (करिब ४ लाख २० हजार डलर) पुगेको छ ।








