टोकियो – उत्तर-पूर्वी जापानको तटीय क्षेत्रमा एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १३ जना सवार रहेको माछा मार्ने डुङ्गा मङ्गलबार बिहान मालवाहक जहाजसँग ठोक्किएर समुद्रमा पल्टिएको जापानी कोस्ट गार्डले पुष्टि गरेको छ ।
हाचिनोहे कोस्ट गार्ड कार्यालयका अनुसार, ७४८ टनको मालवाहक जहाज ‘सुहिरो मारु’ र १४० टनको ‘कोफुकु मारु नं. ६५’ नामक माछा मार्ने डुङ्गा मङ्गलबार बिहान करिब १:१५ बजेतिर ठोक्किएका थिए । दुर्घटना ओमोरी प्रान्तको मिसावा बन्दरगाहभन्दा करिब २० किलोमिटर उत्तर-पूर्वी समुद्री क्षेत्रमा भएको हो ।
दुर्घटना लगत्तै डुङ्गामा सवार ९ जनाको सकुशल उद्धार गरिएको थियो । बाँकी चार जना सुरुमा बेपत्ता भए तापनि बिहान ७ बजेतिर मालवाहक जहाज र अन्य माछा मार्ने डुङ्गाहरूको सहयोगमा उनीहरूलाई फेला पारिएको थियो । खोजी टोलीले उनीहरूलाई मृत घोषित गरेको छ ।
उद्धार कार्यमा संलग्न एक ७३ वर्षीय प्रत्यक्षदर्शीले अँध्यारोका कारण बेपत्ताहरूको खोजीमा निकै कठिनाइ भएको बताए । उनका अनुसार बिहान ७ बजेतिर एक व्यक्ति माछा मार्ने जालमा अल्झिएको अवस्थामा फेला परेका थिए भने अन्य दुई जना नजिकैको पानीमा भेटिएका थिए ।
ओमोरीको हाचिनोहेबाट छुटेको उक्त माछा मार्ने डुङ्गा (ट्रलर) दुर्घटनापछि समुद्रमा डुबेको विश्वास गरिएको छ । अर्कोतर्फ, हिरोशिमाको कुरेबाट छुटेको मालवाहक जहाज होक्काइडोको तोमाकोमाई हुँदै चिबा प्रान्तको किमित्सुतर्फ जाँदै थियो ।
कोस्ट गार्डका अनुसार दुर्घटनाको समयमा मौसम सफा थियो । त्यतिबेला समुद्री हावाको गति प्रतिघण्टा २६ किलोमिटर र छालको उचाइ करिब १ मिटर रहेको थियो । यद्यपि, समुद्रको पानीको तापक्रम भने करिब ८ डिग्री सेल्सियस मात्र रहेको बताइएको छ । अधिकारीहरूले घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेका छन् ।








