समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूका लागि मंगलबारदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भइरहेको कार्यक्रममा पार्टी नेतृत्वसहित विभिन्न विज्ञहरूले प्रशिक्षण दिइरहेका छन्।
कार्यक्रमको सुरुवात उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले गरेका छन्। उनीहरूले अभिमुखीकरणको उद्देश्य र सांसदको भूमिकाबारे जानकारी दिएका छन्। पूर्व संसद सचिव सुरेश अधिकारीले संसदको संरचना र कार्यप्रणालीबारे अनुभव साझा गरेका छन्। यसैगरी, वाग्लेले चुनावी वाचापत्र र सांसदको जिम्मेवारीबारे प्रशिक्षण दिएका छन् भने तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियाबारे जानकारी गराएका छन्। कार्यक्रममा सांसदहरूलाई समूहमा विभाजन गरी आपसी परिचय र सहकार्य सीप विकासमा पनि जोड दिइएको छ।
दोस्रो दिन योग–ध्यानबाट सुरु हुने कार्यक्रमपछि योजना, बजेट तथा पार्टी–संसद सम्बन्धबारे छलफल हुनेछ। अन्त्यमा सभापति रवि लामिछानेको निर्देशनसहित अभिमुखीकरण समापन गरिनेछ।








