Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026
  • अल्गोरिदम र भ्रामक सूचना विरुद्ध लड्नु नै अबको पत्रकारिताको चुनौती हो : मल्ल

टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाको १५ औं स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार तिलक मल्ल ‘प्रवास पत्रकारिता पुरस्कार-२०२६’ बाट सम्मानित भएका छन् । टोकियोमा आयोजित एक विशेष समारोहका बीच जापानका लागि कार्यवाहक नेपाली राजदूत हरिहरकान्त पौडेलले मल्ललाई नगद ५० हजार येन र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

सन् १९९९ देखि जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर सक्रिय मल्ल जिएमटी इन्टरनेशनल कम्पनी लिमिटेडका अध्यक्ष हुन् । ‘समुद्रपारि डट कम’ अनलाइनका सञ्चालक तथा ‘नेपाली समाचार’ पाक्षिकका प्रधानसम्पादक तथा प्रकाशक मल्ल महासंघ जापान शाखाका संस्थापक अध्यक्ष समेत हुन् । यसका साथै विभिन्न सामाजिक सेवाका कामले पनि मल्ल जापानमा परिचित छन् । रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘फोरेक्स जापान’ले सो पुरस्कारको प्रायोजन गरेको थियो ।

‘पत्रकारिता अब अल्गोरिदम र मिसइन्फर्मेसन विरुद्ध हुनुपर्छ’
पुरस्कार ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्दै वरिष्ठ पत्रकार मल्लले वर्तमान समयमा पत्रकारिताका चुनौती र प्रवासी नेपाली समाजका गम्भीर मुद्दाहरूबारे गहन धारणा राखेका छन् । उनले अबको पत्रकारिता परम्परागत शैलीबाट माथि उठेर ‘स्मार्ट र अर्गानिक’ हुनुपर्नेमा जोड दिए । ‘हामी यस्तो समयमा छौँ जहाँ अल्गोरिदमले मानिसको मानसपटल नियन्त्रण गरिरहेको छ । भ्रामक सूचनाबाट नागरिकलाई जोगाउनु र सही सूचना प्रवाह गर्नु नै अबको मुख्य चुनौती हो,’ मल्लले भने ।उनले पत्रकारिता केवल समाचार लेख्नु मात्र नभई समाजका समस्यालाई वर्गीकरण गरेर तिनको समाधानका लागि पुलको काम गर्नु रहेको बताए । मल्लले जापानमा बढ्दै गएको नेपालीहरूको संख्यासँगै थपिएका सामाजिक समस्याहरूप्रति पनि ध्यानकर्षण गराए । विशेष गरी जापानमा हुर्कँदै गरेको दोस्रो पुस्ताले नेपाली भाषा, कला र संस्कृति बिर्सिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हाम्रा नानीबाबुहरू हुर्कँदै छन् तर नेपाल बिर्सिँदै छन् । भाषा बिर्सिएपछि हजुरबा-हजुरआमासँगको सम्बन्ध र हाम्रो राष्ट्रियताको त्यान्द्रो पनि चुँडिन सक्छ,’ मल्लले भने ।

प्रवासी नेपाली संघसंस्थाहरूको कार्यशैलीमाथि टिप्पणी गर्दै उनले अब कार्यक्रमहरूलाई औपचारिकता र आसनग्रहणमा मात्र सीमित नराखी ‘स्मार्ट र सन्देशमूलक बनाउन आग्रह गर्नुभयो । जापानमा एउटा बलियो नागरिक समाजको अभाव रहेको औँल्याउँदै मल्लले पत्रकार, बुद्धिजिवी र व्यवसायीहरू संस्थागत पदभन्दा माथि उठेर समाजका लागि एक ठाउँमा उभिनुपर्ने बताए ।

समारोहमा महासंघका अध्यक्ष रवीन्द्र श्रेष्ठको सभापतित्व रहेको थियो भने उपाध्यक्ष लक्ष्मी पौडेलले स्वागत मन्तव्य राखेका थिए । सचिव अर्जुन लामिछानेले सञ्चालन गरेको कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जापानमा नेपाली पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत एकता र सामाजिक संस्थाहरूबीचको सहकार्यका विषयमा अन्तर्क्रिया समेत गरिएको थियो ।*** 

तपाईको प्रतिक्रिया