काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई विश्वकै उत्कृष्ट, समृद्ध र शान्त राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एनआरएनएको १२औँ तथा एकताको महाधिवेशनलाई सम्बोधन गर्दै डा. महतोले गैरआवासीय नेपालीहरूसँग मुलुकको मुहार फेर्न सक्ने बौद्धिक, आर्थिक र शारीरिक क्षमता रहेको दाबी गरेका हुन् ।
नेपाललाई ‘तपोभूमि’ र ‘देवभूमि’ को संज्ञा दिँदै उनले भने, “यो अत्यन्तै सुन्दर र पवित्र भूमि हो । यदि हामीले दृढ सङ्कल्प गर्यौँ भने छोटो समयमै नेपाललाई संसारकै सबैभन्दा सभ्य र समृद्ध देशका रूपमा चिनाउन सम्भव छ ।”
व्यक्तिगत सफलताभन्दा राष्ट्रिय समृद्धिलाई माथि राख्नुपर्ने धारणा राख्दै डा. महतोले आफ्नो देश समृद्ध नभएसम्म व्यक्तिगत उपलब्धिले पूर्णता नपाउने उल्लेख गरे । सोही भावनाबाट अभिप्रेरित भएर २३ वर्षअघि एनआरएनए अभियान सुरु गरिएको उनले स्मरण गराए । यद्यपि, दुई दशकभन्दा लामो यात्रा तय गरिसक्दा पनि सबै गैरआवासीय नेपालीहरूलाई एउटै मञ्चमा उभ्याउन नसकेकोमा उनले भावुक हुँदै दुःख व्यक्त गरे ।
“२३ वर्षपछि पुनः एकताको कुरा गरिरहँदा यहाँको खाली हल र आफ्नै देश बनाउन आतुर भएका साथीहरूको अनुपस्थिति देखेर मेरा आँखामा आँसु छचल्किएको छ,” डा. महतोले भावुक हुँदै भने, “संसार बनाउन पसिना बगाइरहेका नेपालीहरू आफ्नै देश बनाउने यो साझा अभियानमा पूर्ण रूपमा गोलबन्द हुन अझै सकेका छैनन् ।”
आर्थिक दृष्टिकोण प्रस्तुत गर्दै उनले विदेशमा रहेका नेपालीहरूले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरकै रेमिट्यान्स पठाउने गरेको तथ्याङ्क स्मरण गराए । यस पुँजीलाई उपभोगमा मात्र नभई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा उनको जोड थियो ।
उनले आगामी १० देखि २० वर्षभित्र नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यसहित अघि बढ्न सबैलाई सुझाव दिए । “हामी सधैँ सरकारलाई यस्तो गरिदेऊ भनेर माग मात्र गरिरहन्छौँ,” डा. महतोले थपे, “देश अप्ठ्यारो स्थितिमा हुँदा र नियम कानुनहरू जटिल हुँदा पनि हामीले लडेरै भए पनि नेपाल बनाउने अभियानमा होमिनुपर्छ । अब माग गर्ने मात्र होइन, आफैँले केही गरेर देखाउने समय हो ।”








