Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको बढ्दो ध्रुवीकरण र गुटबन्दी अन्त्य गरी संस्थालाई एकताबद्ध बनाउन अध्यक्षका दाबेदार रोविन शेरचनले ऐतिहासिक निर्णय लिएका छन् । शनिबारदेखि सुरु भएको १२औँ महाधिवेशनमा अध्यक्ष पदका बलिया उम्मेदवार मानिएका शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अर्का उम्मेदवार डा. हेमराज शर्मालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

सहमति अनुसार अब शेरचन संघको आगामी कार्यकालका लागि ‘वरिष्ठ उपाध्यक्ष’ पदमा रहेर संस्थागत विकासमा लाग्नेछन् । लामो समयदेखि ‘एक मन, एक संगठन’ को नारासहित चुनावी अभियानमा होमिएका शेरचनले संस्थाभित्रको चरम गुटबन्दीलाई ‘फोहोर पोखरी’को संज्ञा दिँदै आएका थिए । उनले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिका लागि मात्र नभई संस्थालाई फुटबाट जोगाउन र विकृतिहरूलाई सङ्ल्याउन भएको बताउँदै आएका थिए । अन्ततः संस्थागत एकताका लागि उनी पछि हटेका हुन् ।

सबै पक्षलाई समेट्दै यसपालि हेमराज नेतृत्वलाई सघाउने निर्णयमा पुगेको उनले बताए । ‘अहिलेको मुख्य आवश्यकता भनेकै संस्थाको प्रतिष्ठा र गरिमा जोगाउनु हो । सबै पक्षका साथीहरूलाई समेट्दै यसपालि हेमराजजीको नेतृत्वलाई सघाउने र अर्को कार्यकालका लागि तयारी गर्ने सवालमा हामी एक ठाउँमा आइपुगेका छौँ । यो अभियानमा हामी सबै मिलेर अघि बढ्दा मात्र एनआरएनएको मर्यादा उच्च हुन्छ,’ शेरचनले भने ।जापानलाई कार्यक्षेत्र बनाएर विगत ३० वर्षदेखि व्यवसाय र समाजसेवामा सक्रिय शेरचन एनआरएनए वृत्तमा ‘कम बोल्ने तर काम गरेर देखाउने’ सालिन नेताका रूपमा परिचित छन् । १५ वर्षभन्दा बढी समय एनआरएनए अभियानमा बिताएका उनले हाल आइसिसि उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेका छन् । संघभित्र महेश श्रेष्ठ, बद्री केसी, आरके शर्मा र विनोद कुँवर पक्षबीच देखिएको मतभेदलाई चिर्दै साझा सहमतिको बिन्दु पहिल्याउन शेरचनले खेलेको यो भूमिकालाई धेरैले ‘त्याग र समन्वयको नमुना’ भनेका छन् ।

जापानमा सफल उद्यमीका रूपमा पहिचान बनाएका शेरचनले प्रवासी नेपालीहरूको हकहित, वैदेशिक लगानी र मातृभूमिसँगको सम्बन्ध सुदृढीकरणलाई सधैँ प्राथमिकतामा राख्दै आएका छन् । झण्डै ८० लाख गैरआवासीय नेपालीको भावनालाई एउटै मञ्चमा ल्याउने उनको सपनालाई यो पछिल्लो सहमतिले थप बल पुग्ने विश्वास गरिएको छ ।

शनिबारदेखि काठमाडौँमा सुरु भएको एनआरएनएको १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा भएको यो सहमतिले संघको आगामी नेतृत्व चयन प्रक्रियामा नयाँ मोड ल्याएको छ । शेरचनले अध्यक्षको दौडबाट बाहिरिएर वरिष्ठ उपाध्यक्षमा बस्ने निर्णय गरेसँगै डा. हेमराज शर्माको प्यानल थप बलियो बनेको छ भने संस्थाभित्र एकताको सकारात्मक सन्देश प्रवाह भएको छ । प्रवासी नेपालीहरूले यस निर्णयलाई संस्थाको बृहत्तर हितका लागि चालिएको साहसिक कदमका रूपमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया