काठमाडौं – नेपाली विद्यार्थीहरूको वैदेशिक अध्ययनको मोह र गन्तव्यमा ठूलो फेरबदल आएको छ । विगत केही वर्षदेखि अस्ट्रेलिया र बेलायतको वर्चस्व रहेको वैदेशिक शिक्षामा पछिल्लो समय जापान नेपाली विद्यार्थीको प्रमुख रोजाइ बन्न पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) को तथ्याङ्कले जापान प्रतिको बढ्दो आकर्षणलाई पुष्टि गरेको हो ।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्त) सम्म कुल २८ हजार ५ सय ८५ विद्यार्थीले एनओसी लिएका छन् । जसमा सबैभन्दा बढी ९ हजार ४ सय ५३ जनाले जापानका लागि अनुमति लिएका छन् । दोस्रो स्थानमा रहेको अस्ट्रेलियाका लागि ७ हजार ७ सय ३० र तेस्रो स्थानमा रहेको बेलायतका लागि ४ हजार ६ सय ११ विद्यार्थीले स्वीकृति लिएको मन्त्रालयले जनाएको छ ।
किन बढ्दैछ जापानमा आकर्षण ?
जापानी भाषा सिकेर त्यहाँ पुगेपछि अध्ययनसँगै रोजगारीका अवसरहरू सहज हुनु र पछिल्लो समय जापानी भाषा परीक्षाको नतिजा उत्साहप्रद हुनुले विद्यार्थीको चाप जापानतर्फ मोडिएको विश्लेषण गरिएको छ । एनओसी शाखाका प्रमुख वीरेन्द्रजंग थापाका अनुसार गत फेब्रुअरीमा भएको जापानी भाषा परीक्षाका कारण पनि पछिल्ला दिनमा जापान जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक विवरण हेर्दा पनि जापान अन्य देशको तुलनामा निकै अगाडि देखिन्छ । उक्त वर्ष विश्वका ८४ देशमा अध्ययनका लागि कुल १ लाख २३ हजार ५ सय ८९ विद्यार्थीले एनओसी लिएका थिए । जसमध्ये जापानका लागि मात्रै ३९ हजार ८ सय ४७ विद्यार्थीले स्वीकृति लिएका थिए । प्रमुख पाँच गन्तव्यको सूचीमा जापानपछि बेलायत (२७,४७५), अस्ट्रेलिया (१६,२७९), दक्षिण कोरिया (९,७५७) र संयुक्त राज्य अमेरिका (८,८७०) रहेका छन् ।
विषयगत आधारमा हेर्दा नेपाली विद्यार्थीको पहिलो रोजाइमा ‘म्यानेजमेन्ट’ (व्यवस्थापन) देखिएको छ । गत आर्थिक वर्षमा व्यवस्थापन विषय पढ्नका लागि मात्रै १ लाख १६ हजार ७ सय ८० विद्यार्थीले अनुमति लिएका छन् । यसैगरी सूचना प्रविधि (आईटी) मा ३० हजार ७ सय ४४, विज्ञान विषयमा २० हजार ६ सय ७४ र हस्पिटालिटी क्षेत्रमा १४ हजार २३ विद्यार्थीको आकर्षण देखिएको छ ।
मन्त्रालयले एनओसी वितरण प्रक्रियालाई थप व्यवस्थित र छिटोछरितो बनाउन अनलाइन प्रणालीलाई सुदृढ गरिरहेको जनाएको छ । यद्यपि, केही समय प्राविधिक कारणले प्रणालीमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको भए पनि कागजात पुरा भएका आवेदकहरूले पालोअनुसार सहजै स्वीकृति पाउने व्यवस्था मिलाइएको शाखा प्रमुख थापाले बताउनुभयो । मन्त्रालयले पछिल्लो समय वैदेशिक विश्वविद्यालय र कलेजहरूको आधिकारिकता तथा पूर्वाधारका आधारमा आफ्नो सूचीलाई समेत अद्यावधिक गर्दै लगेको छ ।








