समाचार सुन्नुहोस :
काठमाडौँ – बलात्कारपछि हत्या गरिएको आरोप लागेकी सुर्खेतकी इनिशा विकका लागि न्याय माग्दै काठमाडौं र सुर्खेतमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको मागसहित उनीहरू सडकमा उत्रिएका हुन्।
काठमाडौंमा पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बागबजारदेखि माइतीघर मण्डलासम्म विरोध र्याली निकालेको छ। यस्तै, इनिशा अध्ययनरत वीरेन्द्रनगरस्थित उषा बालवाटिकाका विद्यार्थी, शिक्षक र कर्मचारीहरूले पनि सुर्खेतमा प्रदर्शन गरेका छन्। विद्यालय पोशाकमै आएका उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि केही समय नाराबाजी गरेका थिए।
फागुन २३ गते सामुदायिक वन क्षेत्रमा मृत फेला परेकी इनिशाको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको छ। अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि सुर्खेत पुगेको छ।
परिवारले दोषीमाथि कारबाही हुने सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएको छ। रोजगारीका लागि दुबईमा रहेका उनका बुवा घटनापछि नेपाल फर्किएका छन्।








