समाचार सुन्नुहोस :
काठमाडौँ – मोरङ–६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा दर्ता गरिएको विवरणअनुसार उनले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेका छन्। उनका तर्फबाट निर्वाचन प्रतिनिधि विकास थापाले बिहीबार आयोगमा विवरण पेश गरेका हुन्।
विवरणमा सबैभन्दा धेरै रकम प्रचार सामग्री तयार गर्न खर्च भएको देखिन्छ। मतदाता सूची, पर्चा, पम्पलेट, घोषणापत्र, झण्डा र फ्लेक्सजस्ता सामग्री छपाइमा मात्र १६ लाखभन्दा बढी खर्च भएको छ। प्रचार–प्रसार गतिविधि, सवारी साधनको इन्धन तथा स्टेशनरी सामग्रीमा पनि उल्लेख्य खर्च गरिएको छ।
यसैगरी, चुनावी अभियानका क्रममा कार्यकर्ता तथा शुभेच्छुकका लागि खाजा–खानामा रकम खर्च भएको छ। पार्टी परिचालन, यातायात, प्रचार कार्यालयका लागि टेन्ट र अन्य आवश्यक सामग्रीमा समेत खर्च गरिएको विवरणमा उल्लेख छ।








