Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

बेइजिङ – एक जापानी वरिष्ठ अधिकारीले आफ्ना चिनियाँ समकक्षीसामु झुकेको देखिने तस्बिरहरू चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएपछि टोकियोले बेइजिङसँग ‘असंयोजित’ प्रेस व्यवस्थाबारे बुधबार गुनासो दर्ता गरेको छ ।

तस्बिरहरूमा जापानी विदेश मन्त्रालयको एसियाली तथा ओसियाली मामिला ब्युरोका प्रमुख मासाकी कानाई र उनका चिनियाँ समकक्षी लिउ जिनसोङ मंगलबार चिनियाँ विदेश मन्त्रालयमा वार्ता समाप्त भएपछि उभिएको देखिन्छ । जापानका मुख्य मन्त्रीपरिषद् सचिव मिनो किहाराले टोकियोमा भने कि जापानी पक्षलाई बैठकपछिका दृश्यहरूको प्रेस कभरेजबारे जानकारी दिइएको थिएन, जसमा चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका प्रमुख लिउ आफ्नो खल्तीमा हात राखेर उभिएका छन् ।

बैठकमा दुई पक्ष जापानी प्रधानमन्त्री सानाय ताकाइचीको ताइवानसम्बन्धी हालैको टिप्पणीका कारण उत्पन्न द्विपक्षीय कूटनीतिक विवादबारे मतभेदहरू सुल्झाउन असफल भए । केही चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तस्बिरहरूलाई ‘यस वर्षका उत्कृष्ट तस्बिरहरू’ भन्दै टिप्पणी गरेका छन् र लिउलाई ‘परीक्षामा फेल भएको विद्यार्थीलाई गाली गर्ने शिक्षकजस्तो’ देखिएको बताएका छन् ।

यसैबीच, मंगलबार संयुक्त राष्ट्रसंघमा चीन र जापानबीच वाकयुद्ध भएको छ । चिनियाँ दूतले टाकाइचीको टिप्पणीको कडा आलोचना गर्दै टोकियो सुरक्षा परिषदको स्थायी सिट खोज्न पूर्ण रूपमा अयोग्य रहेको दाबी गरेको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

जापानी प्रतिनिधिले संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोङका टिप्पणीहरू निराधार भएको र टोकियोले विश्वमा शान्ति र समृद्धि कायम राख्न योगदान पुर्‍याएको भन्दै प्रतिवाद गरे । वाकयुद्ध संयुक्त राष्ट्रसंघ महासभाको सुरक्षा परिषद् सुधारसम्बन्धी वार्षिक बहसमा भएको थियो । जापानले हालका पाँच स्थायी दस्य राष्ट्रहरू – संयुक्त राज्य अमेरिका, बेलायत, चीन, फ्रान्स, रुस – को संख्या विस्तार गरी नयाँ सदस्य बन्ने लक्ष्य राखेको छ ।

ताकाइचीले नोभेम्बर ७ मा जापानको संसदमा दिएको टिप्पणीले ताइवानमा कुनै आकस्मिकता आएमा जापानी रक्षा बलको सम्भावित प्रतिक्रियाको संकेत दिएको थियो । चीनले स्वशासित लोकतान्त्रिक टापुलाई मुख्य भूमिसँग एकीकरण गरिनुपर्ने एक विद्रोही प्रान्त मान्दछ, आवश्यक परे बल प्रयोग गरेर भए पनि, र ताइवान मुद्दा विशुद्ध ‘आन्तरिक मामिला’ भएकोमा जोड दिन्छ ।

बढ्दो कूटनीतिक विवादले दुई एसियाली छिमेकीहरूबीच कर्मचारी आदानप्रदान, पर्यटन, शिक्षा र मनोरञ्जन क्षेत्रहरूलाई असर गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया