समाचार सुन्नुहोस :
काठमाडौँ – आज नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो संस्करणको दुई खेल हुन लागिरहेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुँदैछ भने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। चारै टोलीले प्रतियोगितामा राम्रो सुरुआत गर्ने लक्ष्य राखेका छन्।
चितवनलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने कर्णालीको कप्तानी सोमपाल कामीले सम्हाल्नेछन्। विराटनगरका कप्तान सन्दीप लामिछाने रहनेछन् भने पोखराको टोली कुशल भुर्तेलको कप्तानीमा खेल्नेछ। यसअघि सोमबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको थियो। त्यससँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क जोडेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ मा हुनेछ। प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पुरस्कार पाउने क्यानले जनाएको छ।








