टोकियो – दक्षिणपश्चिमी जापानको कागोशिमा प्रान्तमा अवस्थित साकुराजिमा ज्वालामुखी आइतबार बिहानै विष्फोट भएको छ । मौसम विज्ञान एजेन्सीका अनुसार विष्फोटपछि निस्किएको खरानी र धुवाँको मुस्लो वायुमण्डलमा ४,४०० मिटरसम्म पुगेको थियो ।
प्रारम्भिक विष्फोटपछि पनि ज्वालामुखी सक्रिय रहिरहेकोले एजेन्सीले कागोशिमा, कुमामोतो र मियाजाकी प्रान्तका केही भागहरूमा खरानी खस्ने पूर्वानुमान जारी गरेको छ । हालसम्म कुनै मानवीय क्षति वा भवनहरूमा नोक्सानीको विवरण प्राप्त भएको छैन ।
स्थानीय मौसम विज्ञान अब्जरभेटरीका अनुसार, आइतबार बिहान लगभग १२:५७ मा मिनामिडाके क्रेटरमा भएको विष्फोट गत वर्षको अक्टोबर १८ पछि पहिलो पटक ४,००० मिटरभन्दा माथि पुगेको हो ।
विष्फोटको पछिल्लो शृङ्खलामा, ठूला ज्वालामुखी चट्टानहरू पाँचौं स्टेसनसम्म उडेर पुगेका थिए, तर कुनै पाइरोक्लास्टिक प्रवाह (तातो ग्याँस र चट्टानको वेग) भने देखिएको छैन । सतर्कताको स्तर पाँचमध्ये तीनमा कायम राखिएको छ, जसले गर्दा उक्त पर्वतमा पहुँचमा प्रतिबन्ध लगाइएको छ ।
साकुराजिमा जापानको सबैभन्दा सक्रिय ज्वालामुखी मध्ये एक हो र यो देशको दक्षिणपश्चिमी मुख्य टापु क्युशुको ओसुमी प्रायद्वीपसँग जोडिएको छ । कुनै समय टापुको रूपमा रहेको यो ज्वालामुखी, सन् १९१४ मा भएको लाभा प्रवाहपछि प्रायद्वीपसँग जोडिएर भू-भाग बनेको थियो ।








