समाचार सुन्नुहोस :
काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडान भर्न लागिरहेको बुद्ध एयरको विमानमा चरा ठोक्किएपछि उडान स्थगन गरिएको छ।
शनिबार बिहान करिब १० बजे विमान रनवेबाट जमिन छाड्ने क्रममा चरा ठोक्किएको विमानस्थलकी सूचना अधिकारी जसोधा सुवेदीले जानकारी दिइन्। उनका अनुसार चरा ठोक्किएपछि सुरक्षा नियमअनुसार विमान उडाउन नमिल्ने भएपछि पाइलटले तत्काल विमानलाई पार्किङतर्फ फर्काएका थिए।
विमानमा रहेका यात्रुहरूलाई अर्को विमानमा राखेर काठमाडौं पठाइएको छ। चरा ठोक्किँदा कुनै ठूलो क्षति नभए पनि सुरक्षा प्रक्रियाअनुसार प्राविधिक टोलीले पूरा परीक्षण गरेपछि मात्रै सो विमानलाई पुनः उडान अनुमति दिनुपर्ने सुवेदीले बताइन्। उनका अनुसार पोखरा क्षेत्रमा चरा धेरै आउने भएकाले यस्ता घटना सामान्य रूपमा देखिने गर्छन्।








