समाचार सुन्नुहोस :
काठमाडौँ – सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन्। उनका अनुसार संसद असंवैधानिक रूपमा विघटन भएकाले पुनर्स्थापना अपरिहार्य छ।
झापा बिर्तामोडस्थित निवासमा आज बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सर्वोच्च अदालतले संसद पुनर्स्थापनासम्बन्धी मुद्दालाई चाँडै सुनुवाइमा लैजाने विश्वास व्यक्त गरे। कानुनी, व्यवहारिक र आवश्यकताका आधारमा संसद पुनर्स्थापना सुनिश्चित हुने उनको भनाइ छ।
उनका अनुसार संसद पुनः सञ्चालन भएपछि मात्र देशले मार्गनिर्देशन पाउन सक्छ। जननिर्वाचित निकाय विघटन भएपछि देशमा थप जटिलता उत्पन्न भएको उनले उल्लेख गरे।
सभामुख घिमिरेले भने, “संसद पुनर्स्थापना गरेर अहिलेका समस्याहरू समाधान गर्न संविधान संशोधन गरेर अघि बढ्न सकिन्छ। जेनजी आन्दोलनका माग सम्बोधन गर्ने बाटो पनि यही हो। संविधानका कुन–कुन विषयमा संशोधन चाहिन्छ भन्नेबारे छलफल हुनुपर्छ।”
समस्याको समाधान छलफल र सहमतिबाट खोज्दै अघि बढ्नुपर्ने उनको सुझाव छ।








